पोखरीमा डुबेर दुई बालबालिकाको ज्यान गयो
सिंचाइ पोखरीमा डुबेर खोटाङमा दुई बालबालिकाको ज्यान गएको छ।
हलेसी तुवाचुङ नगरपालिका-३, च्यास्मीटारका ६ वर्षीय संगम राई र तीन वर्षीया समृद्धि राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम खड्काले बताए। संगम र समृद्धि दाजुबहिनी हुन्।
सोमबार घरभन्दा करीब एक किलोमिटर टाढा भुतिया खोला नजीक रहेको पोखरीमा नुहाउने क्रममा दाजुबहिनीको ज्यान गएको प्रहरीको भनाइ छ। अभिभावक मकै भाँच्न गएको वेलामा दाजुबहिनी खेल्ने क्रममा पोखरीमा पुगेको अनुमान गरिएको छ।
घरमा छोराछोरीलाई नदेखेपछि आमा ममिता राई खोजबिनमा लागेकी थिइन्। खोज्दै जाँदा पोखरीमा डुबेको अवस्थामा फेला पारेकी थिइन्। हातखुट्टा चलाउँदै गरेको अवस्थामा पोखरीबाट निकालेर घर ल्याउँदा ज्यान गएको प्रहरीले जनाएको छ।
यो पोखरी वर्ष दिनअघि बनाइएको थियो। यसमा घेराबार लगाइएको छैन। जसले गर्दा बालबालिकाको पोखरीमा ज्यान गएको स्थानीय बासिन्दाको भनाइ छ।
संगम गाउँकै कलंका आधारभूत विद्यालयमा कक्षा २ मा र समृद्धि कक्षा १ मा अध्ययनरत थिए। सोमबार सार्वजनिक बिदा भएकाले दुवै घरमै थिए।
उनीहरूका बुवा गइन्द्र राई वैदेशिक रोजगारमा छन्। दुवै सन्तानको ज्यान गएपछि आमा होशमा आउन सकेकी छैनन्। गाउँ नै शोकमा डुबेको छ।