एकीकृत समाजवादीमा पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि आज निर्वाचन
नेकपा (एकीकृत समाजवादी)का पदाधिकारी र पोलिटब्यूरो सदस्य चयनका लागि आज निर्वाचनको तयारी गरिएको छ।
एकीकृत समाजवादीको सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी र पोलिटब्यूरो सदस्य छनोट गर्ने निर्णय गरेको हो। सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट चयन गर्ने निर्णय भएको एकीकृत समाजवादीका निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले बताए।
एकीकृत समाजवादीको निर्वाचन आयोगले सोमबार नै मतदाताको नामावली प्रकाशन गरी प्रक्रिया अगाडि बढाएको छ। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदाधिकारी र ८४ पोलिटब्यूरो सदस्य चयन गर्न निर्वाचनको तयारी थालिएको हो। एकीकृत समाजवादीको महाधिवेशनबाट ३४४ सदस्यीय केन्द्रीय कमिटीको गठन गरिएको थियो।
उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन लगायत कार्यक्रम आज बिहानका लागि तय गरिएको छ। दिउँसो २ देखि साँझ ५ बजेसम्म मतदान र साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष पौडेलले जारी गरेको निर्वाचन कार्यक्रममा उल्लेख छ।
केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउनेछन्। सचिवालय सदस्य, स्थायी समिति सदस्य विभाग लगायत संरचना केही दिनपछि निर्माण गरिने जनाइएको छ।
केन्द्रीय कमिटीमा हाल अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल गरी तीन पदाधिकारी छन्।