तेन्जिङको गाउँ क्षतविक्षत बनाउने हिमतालको लेखाजोखा
थामे जलाधार क्षेत्रमा रहेको सानो हिमताल विस्फोट हुँदा बस्ती नै सखाप भयो भने समयमै तयारी नगर्ने हो भने फुट्ने जोखिममा रहेका कैयौं हिमतालले जनधनको क्षति गराउन सक्छन्।
प्रा. नरेन्द्रराज खनाल
सर्वोच्च शिखर सगरमाथा आरोहण वा आधारशिविरको यात्रामा जाँदा बाटोमै पर्छ, नाम्चे बजार। उच्च हिमाली क्षेत्रमा जाने पर्यटक यही बजारमा केही दिन बसेर आफूलाई त्यहाँको वातावरण अनुकूल बनाउँछन्।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित नाम्चेबाट पूर्वी बाटो हुँदै सगरमाथातिर लागिन्छ भने पश्चिमी बाटोमा पर्छ, थामे गाउँ। यो त्यही गाउँ हो, जहाँ प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा हुर्किएका थिए।
तेन्जिङसँगै संसारभर परिचित यो गाउँ यो बर्खामा फेरि एक पटक चर्चामा आएको छ। संसारभरका सञ्चारमाध्यमको ध्यान खिचेको थामे बस्तीले यस पटक भने हिमताल विस्फोट हुँदा आएको बाढीका कारण चर्चा पाएको हो। गत साउन ३२ मा आएको बाढीले थामेलाई क्षतविक्षत बनाएको छ। घर, होटल, बाटोघाटो लगायत संरचना बगेका छन्, क्षति भएको छ।
थामे खोलाको शिरमा रहेका हिमताल फुटी थामे गाउँका घरमा क्षति पुग्दा धेरै मानिस विस्थापित भए। यो घटनाका सम्भावित कारण र थामे गाउँमा केकसरी नोक्सान भयो भन्नेबारे हिमालखबरमा दुई वटा लेख प्रकाशित भइसकेका छन्।
यस लेखमा बाढी आउनुको कारणसँग सम्बन्धित दुई हिमतालका आधारमा केकस्ता परिवर्तन हुँदै आएका थिए र बाढीपछि त्यसको स्वरूप कस्तो रह्यो भन्नेबारे लेखाजोखा गरिएको छ। त्यस अतिरिक्त तालहरूको बाँधको अवस्था कस्तो थियो, त्यसमा केकस्तो परिवर्तन देखियो र बाढीको वेलामा थामे खोलाको अवस्था कस्तो थियो भन्नेबारे पनि चर्चा गरिएको छ।
चित्र १ : विभिन्न समयमा खिचिएका हिमतालका तस्वीर।
यसरी लेखाजोखा गर्ने सामग्रीका रूपमा गूगल अर्थमा उपलब्ध विभिन्न समयका स्याटेलाइट तस्वीर र बाढीपछि खिचिएका भिडिओ तथा तस्वीरलाई लिइएको छ। गूगल अर्थमा थामे क्षेत्रका सन् २००८, २०१४, र २०१७ र २०२१ का स्याटेलाइट तस्वीर उपलब्ध छन्। विश्लेषणमा तिनै तस्वीर प्रयोग गरिएका छन्।
हालसालै फुटेको तल्लो तालको (ताल नं. २) पानी र हिउँले ढाकेको क्षेत्रको आकारको आधारमा सन् २००८ देखि २०२१ सम्म त्यस्तो ठूलो परिवर्तन भएको देखिंदैन (चित्र नंं. १ र २)। तर माथिल्लो ताल (ताल नं. १) को आकारमा भने निकै परिवर्तन भएको देखिन्छ (चित्र नं.३)। सन् २००८ तिर यो ताल निकै सानो र दरारको स्थितिमा देखिन्छ भने सन् २०१४ मा बढेर केही ठूलो र सन् २०२१ मा अझ बढ्न गएको देखिन्छ।
चित्र २ : ताल नं. २ को विभिन्न समयमा खिचिएका तस्वीर र बाढीअघि (रातो रेखा) र बाढीपछि रहेको पानीको सतहका तस्वीर।
हिमनदी पनि पछाडि हट्दै माथिल्लो उचाइमा सर्दै गएको र तालको आकार माथिपट्टि बढ्दै गएको देखिन्छ। तालको आकार बढ्दै गए पनि बाँध कडा चट्टानले बनेको हुँदा फुटेर बाढी आउने सम्भावना कम छ। तर हिमनदी तीव्र गतिमा पग्लने वा माथिबाट हिउँ वा चट्टानहरू खस्ने कारणले पानीको बहाव बढेर बाढी आउन सक्छ। बाढीपछि खिचिएको भिडिओमा यो ताल (ताल नं. १) बाट ठूलो बाढी सिर्जना भई नदीको बाटोमा र त्यसको वरिपरि आउन सक्ने परिवर्तनको चिह्न देखिंदैन।
विस्तृत स्थलगत अध्ययन नगरी यही कारण बाढी आएको हो भन्न सकिंदैन। गत साउन ३२ मा फुटेको ताल नं. २ हिमनदीसँग प्रत्यक्ष रूपमा जोडिएको छैन। यसको पानीको स्रोत माथिल्लो ताल नं. १ हो, जो हिमनदीसँग प्रत्यक्ष जोडिएको छ।
चित्र ३ : विभिन्न समयमा खिचिएका ताल नं. १ का तस्वीर र बाढीपछि तस्वीर।
तल्लो ताल (ताल नं. २) फुटेर धेरै पानी बाहिरियो र त्यसले बाढीको रूप लियो। यो ताल फुट्नुभन्दा अघि (सन् २०२१) को पानीको सतह रातोमा र फुटिसकेपछि तालमा रहेको पानीको सतह प्रस्टसँग देखिन्छ, तर केकति पानी बाहिरियो भने यकीन गर्न स्थलगत अध्ययन नै गर्नुपर्छ।
चित्र नं. ४ मा फुटेको हिमतालको बाँधको विभिन्न समयका तस्वीरहरू देखाइएका छन्। सन् २००८ देखि २०२१ सम्मका तस्वीरमा अहिले फुटेको बाँध क्षेत्रमा त्यस्तो ठूलो परिवर्तन भएको देखिंदैन। बाँधको बाहिरपट्टिको भागमा दुई वटा साना साना पोखरी जस्ता देखिन्छन्। ती साना पोखरीमा बाँधबाट पानी चुहेर जम्मा भएको हो वा होइन, यकीन हुन सकेन। ती पोखरी हालसालै बाँध फुटी निस्केको पानीको मार्गमा अवस्थित थिए।
चित्र ४ : विभिन्न समयमा खिचिएको ताल नं. २ को बाँधका तस्वीर।
एक्कासि आउने यस्तो बाढी (फ्ल्यास फ्लड)को वेलामा खोलाले आफ्नो किनार काटेर माटोढुंगा उधिनेर लिन्छ। अत्यधिक माटो र ढुंगा लिएर बग्दा नदीको ढाल घटेर समथल भएको क्षेत्रमा ती पदार्थ बगाउन नसकेर थुपार्छ। आठ किलोमिटर दूरीको खोलाको बाटोमा तीन ठाउँमा कटान भएको छ र तीन ठाउँमा माटो, ढुंगा तथा गेग्रान थुप्रिन गई बगर बनेको छ (चित्र नं. ५ र ६)।
अधिकांश भागमा खोलाको चौडाइमा वृद्धि भएको छ। यसको एउटा उदाहरण थामे बस्तीको केही माथि देख्न सकिन्छ। जसले गर्दा नदी भँगालो बनाई बगेको र त्यसले जमीन कटान गर्नुका साथै घर भत्काएको छ।
चित्र ५ : कटान गरी फराकिलो बनेको खोलाको बाटो।
हिमनदी प्रायः गतिशील हुन्छन्। हिमनदीसँग प्रत्यक्ष रूपमा जोडिएका हिमताल अझ बढी गतिशील हुन्छन्। हिमनदीको फैलावट र पग्लने कार्य मौसम तथा जलवायुसँग अन्तर्सम्बन्धित हुन्छ।
बढ्दो तापक्रम र अतिवृष्टिका कारणले हिउँ पग्लिने र हिउँ पहिरो जाँदा ताल फुटेर र छचल्किएर बाढी आउँछ। त्यसैले यस्ता तालमा आएका परिवर्तन र वेलावेलामा बाँधको स्थिति खासगरी तालको पानी थाम्न सक्ने क्षमताको अध्ययन एवं अनुगमन हुनु आवश्यक छ।
चित्र ६ : माटो, ढुंगा र गेग्रान थुपारी फराकिलो बनेको खोलाको बाटो।
त्यस्तै, ताल नं. २ को आकार बढ्नुमा विश्वव्यापी तापक्रम वृद्धि एउटा प्रमुख कारण हुन सक्छ। तापक्रम वृद्धि हुनुमा नेपालको भूमिका निकै कम छ। तैपनि त्यसको असर नेपालले धेरै भोग्नुपर्ने अवस्था छ। हिउँ बढी पग्लने र हिमताल फुट्ने सम्भावना बढ्दै गएको छ।
त्यसको प्रभावबाट बच्ने उपाय कार्यान्वयनमा सहयोगका लागि विश्व समुदायसँग अपील गर्नुपर्छ। सबैतिरबाट स्रोत र साधन जुटाउन अथक प्रयास गर्नुपर्ने वेला भइसकेको छ। हिमताल विस्फोट हुँदा थामे खोलामा आएको बाढीले अहिले तेन्जिङको गाउँ मात्रै तहसनहस भएको छ, समयमै पूर्व तयारी नगर्ने हो भने कैयौं गाउँ तहसनहस हुने जोखिम छ।
यो पनि पढ्नुहोस् :