बढुवाका लागि झोला-थैला बोकेर कसैकहाँ कुद्नु पर्दैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीको सरुवाबढुवाका लागि कसैकहाँ कुद्नुनपर्ने बताएका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंको काठमाडौं महानगरपालिका-११ भद्रकालीस्थित नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्व अनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत हुनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए। “वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाऊ भन्दैन, निर्दोषलाई फसाऊ भन्दैन र दोषीलाई छाड्दैन,” उनले भने।
संविधान र कानून बमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिनुपर्ने उनको भनाइ थियो। त्यसका लागि सरकार केही गरौं भन्ने भावनाले लागेको उनले बताए। प्रधानमन्त्री ओलीले भने, “यो सरकार केवल अर्को सरकार होइन, यसले केही गरौं भन्ने भावनाका साथ अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति बोकेको छ।”
प्रधानमन्त्री ओलीले प्रहरीमा सरुवाबढुवाका लागि दौडधूप गर्न नपर्ने गरी व्यवस्था गरिने बताए। “झोला-थैला बोकेर कसैकहाँ कुद्नु पर्दैन,” ओलीले भने, “अहिलेको सरकार भात-रोटी खान्छ, घूस खाँदैन। तपाईंहरू कर्तव्य पालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नुस्, अवाञ्छित र अनुचित प्रभावमा नलाग्नुस्।”
एक अर्ब २६ करोड रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो। भवनका लागि नेपाल खाद्य संस्थानसँग एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरीद गरिएको थियो।