दोरम्बा पहिरोले ६५ परिवार विस्थापित
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ मा गएको पहिरोका कारण ६५ परिवार विस्थापित भएका छन्।
अविरल वर्षासँगै भदौ ८ गते राति गएको पहिरोले तीन घर पुरिंदा ६ जनाको मृत्यु भएको थियो। पहिरोमा पुरिएर चार जना हराइरहेका छन् भने एक जना घाइते भएका छन्।
पहिरोमा पुरिंदा ३० वर्षीया चण्डिका श्रेष्ठ, डेढ वर्षीय आयुष श्रेष्ठ, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको थियो। पहिरोमा परेर ११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन्।
त्यस्तै, ५५ वर्षीय काले पहरी, ५० वर्षीया झाइपुरी पहरी, ६५ वर्षीया पुड्की पहरी र २१ वर्षीया बिन्दा पहरी हराइरहेका छन्। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय बासिन्दासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजी कार्यमा खटिएको छ।
पहिरोका कारण गाउँ नै जोखिममा छ। जसले गर्दा ६५ परिवार विस्थापित भएका हुन्। विस्थापित १८० जनालाई टोकरपुरमा रहेको कण्ठेश्वर मावि र गाउँपालिकाको खाली कोठामा सारिएको अध्यक्ष मैनकुमार मोक्तानले बताए।