दोरम्बा पहिरोमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो, चार सम्पर्कविहीन
रामेछापको शैलुङ गाउँपालिका-३, दोरम्बामा गए राति गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ भने चार जना हराइरहेका छन्।
पहिरोले तीन घर पुरिंदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपकुमार सिंहले बताए। पहिरो पन्छाउँदा आइतबार बिहान ६ जनाको शव भेटिएको हो।
डीएसपी सिंहका अनुसार ३० वर्षीया चण्डिका श्रेष्ठ, डेढ वर्षका आयुष श्रेष्ठ, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको हो। पहिरोमा परी ११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन्। उनको अवस्था गम्भीर छ।
पहिरोले घर पुरिंदा चार जनाको अवस्था अज्ञात छ। उनीहरूको खोजी भइरहेको डीएसपी सिंहले बताए।