पहिरोले घर पुरिंदा आमाछोराको मृत्यु
रामेछापको शैलुङ गाउँपालिका-३, दोरम्बामा गए राति पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
पहिरोमा परी ३० वर्षीया चण्डिका श्रेष्ठ र १८ महीनाका आयुष श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चण्डिका र आयुष आमाछोरा हुन्।
पहिरोमा परेर ११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन्। उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन।
गए राति आएको पहिरोले तीन घर पुरिएको गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगरले जानकारी दिइन्। स्थानीय बासिन्दाले राति नै उद्धारको प्रयास गरेका थिए। तर पानी परेकाले आमाछोरालाई जोगाउन सकेनन्।
राति नै नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो। स्थानीय बासिन्दासँगै सुरक्षाकर्मीको टोलीले पहिरो पन्छाउँदा आमाछोरा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए।
पहिरोले अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ। त्यस्तै, बाढीका कारण पुष्पलाल राजमार्ग अन्तर्गत चरीकोट-मन्थली सडक अवरुद्ध भएको छ।