मर्स्याङ्दी बस दुर्घटनामा ज्यान गुमाएका पर्यटकको शव भारत लगियो
मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २७ पर्यटकको शव शनिबार भारत लगिएको छ।
भरतपुर अस्पतालमा शव परीक्षणपछि भारतीय एअरफोर्सको जहाज र स्थलमार्गबाट पर्यटकको शव भारत लगिएको हो। दुर्घटनामा मृत्यु भएका २५ जनाको शव जहाजबाट लगिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनीहरू भारतको महाराष्ट्रका बासिन्दा हुन्।
त्यस्तै, दुई जनाको शव गाडीबाट लगिएको छ। बसका चालक र सहचालकको शव स्थलमार्गबाट गोरखपुर पठाइएको यादवले बताए।
दुर्घटनामा ज्यान गुमाएका पर्यटकको शव लिन भारतकी युवा तथा खेलकूद राज्यमन्त्री रक्षानिखिल खड्से भरतपुर पुगेकी थिइन्। दुर्घटनामा मृत्यु भएका सबै भारतीय पर्यटक थिए।
पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान साढे ११ बजे तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित, ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो। बसमा सवार ४३ जनामध्ये २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।
मृत्यु भएकामध्ये १५ महिला र ११ पुरुष छन्। त्यस्तै, चार वर्षीया एक बालिकाको पनि ज्यान गएको छ।
घाइते हुनेमा १० महिला र ६ पुरुष छन्। उनीहरूको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
उनीहरू पशुपतिनाथको दर्शन गर्न पोखराबाट काठमाडौंतर्फ आएका थिए। भारतको चारधामको यात्रा गरेका उनीहरू मुक्तिनाथ र पशुपतिनाथको यात्राका लागि नेपालका आएका थिए। पहिरोले बाटो बन्द भएका कारण मुक्तिनाथ नगएर पोखराबाट काठमाडौंतिर लागेका थिए।