इनारमा खस्यो खुशी
गाउँमै बिहानपख मिलेको कामले अलिकति भए पनि पैसा जुट्ने आशमा इनारभित्र पसेका यमबहादुर विक त फर्केनन्, बरु उनलाई निकाल्न गएका अर्का किशोर पनि अस्ताए।
सधैं झैं भदौ ५ को बिहान पनि दाङको तुलसीपर उपमहानगरपालिका-१३, दमार गाउँकी ३७ वर्षीया सिर्जना विक काममा जाने हतारोमा थिइन्। दैनिक मजदूरी गर्ने उनी छिमेकी गाउँको कुखुरा फार्ममा काम गर्दै आएकी थिइन्।
त्यस दिन पति यमबहादुर विकलाई पनि सँगै लैजान खोजेकी थिइन्। यमबहादुर पनि कुखुरा फार्ममा काम गर्न जाने तयारीमा थिए।
सिर्जना खाना पकाउनतिर लागिन्। घरमै सघाइरहेका यमबहादुर एकाएक बाहिर निस्किन खोजे। सिर्जनाले सोधपुछ गर्दा यमबहादुरले जवाफ दिए, “भात पकाउँदै गर्नू, म एकैछिन गाउँतिर डुलेर आउँछु।”
सिर्जनाले खाना पकाइन्। केही बेर पर्खिन् पनि। “बिहानै निस्किनुभएको थियो। ८ बजे फर्किन्छु भन्नुभएको थियो,” सिर्जना सुनाउँछिन्, “बिहान ९ बजेसम्म पनि आउनुभएन।”
त्यसपछि सिर्जनाले पर्खिन सकिनन्। फार्ममा पुग्नुपर्ने समय हुँदै थियो। उतै आउलान् भन्ने सोचेको बताउँदै उनी भन्छिन्, “खाना पकाएर कुखुरा फार्मतिर लागें।”
कुखुरा फार्ममा पुगेर काम गर्न थालेको केही समय मात्रै भएको थियो। इनारमा मान्छे खसेको हल्ला गाउँभरि फैलियो। सिर्जना पनि को खसेको रहेछ भनेर दौडिंदै पुगिन्। “मेरै श्रीमान् रहेछन्,” उनी भन्छिन्, “मैले त हेर्नै सकिनँ, बेहोश भएछु।”
चार दिन भयो, अझै पनि सिर्जना घरीघरी बेहोश भइरहेकी छन्। आफन्तजन र छरछिमेकीले सम्झाइबुझाइ गर्दा सम्हालिन्छन्, फेरि केही बेरमा बेहोश हुन्छिन्।
त्यो अचानक भएको घटना थियो। मजदूरी गरेर परिवार पालिरहेका यमबहादुरले यसअघि इनार सफा नगरेको सिर्जना बताउँछिन्। “अहिलेसम्म इनार सफा गरेको थाहा छैन। हामीले त कुखुरा फार्ममा काम गर्ने सल्लाह गरेका थियौं,” सिर्जना भन्छिन्, “एकैछिनमा आउँछु भनेर हिंडेको मान्छे, कहिल्यै नफर्किने गरी जानुभयो।”
स्थानीय बासिन्दाका अनुसार गाउँतिर डुल्दै गर्दा त्यो बिहान यमबहादुर गाउँकै दिलबहादुर विकको घरमा पुगेका थिए। नाताले दिलबहादुरका मामा पर्छन्, यमबहादुर। केही बेर कुराकानी भएपछि इनारको प्रसंग आयो।
बिहान पानी निकाल्दा फोहोर आएपछि इनारको प्रसंग आएको ४० वर्षीय दिलबहादुर सुनाउँछन्। “फोहोर पानी देखेपछि उहाँले नै भन्नुभयो- सफा गरौं,” उनी भन्छिन्, “उहाँकै भनाइमा जोड दिंदै सबैले गरौं गरौं भने।”
इनार सफा गरे बापत पैसा पाइने भएपछि यमबहादुर पनि हौसिएका थिए। बिहान घुमफिर गर्ने वेलामा कमाइ हुने आशमा उनी इनार सफा गर्न तयार भए।
इनारमा छिर्नुअघि यमबहादुरले मोटर चलाएर पानी सुकाए। त्यो मोटर पनि छिमेकीको घरबाट ल्याएका थिए। करीब एक घन्टामा पानी सुकेपछि उनी इनारमा पसे।
बिहान ९ बजे इनारभित्र पसेका यमबहादुर शुरूआतमा त कुराकानी गरिरहेका थिए। फेदमा पुगेपछि भने बोलचाल गर्न छाडेको दिलबहादुर बताउँछन्।
केही बेरसम्म नबोलेपछि सबै आत्तिए। त्यसपछि दिलबहादुरका छोरा १६ वर्षीय मुकेश विक इनारभित्र पसे। “केही बेरपछि त मुकेश पनि बोलचाल गर्न छोड्यो,” दिलबहादुर भन्छन्, “मेरो त होसहवासै उड्यो।”
दिलबहादुरका परिवारजनले छरछिमेकी बोलाए। इनारमा मान्छे खस्यो भनेर गाउँमा हल्लीखल्ली मच्चियो। “अरू पनि इनामा जान खोज्दै थिए, नआऊ भन्यौं,” स्थानीय यमकुमारी खड्का भन्छिन्, “फोन गरेर प्रहरीलाई खबर गर्यौ।”
साढे १० बजेतिर पुगेको नेपाल प्रहरी र नेपाली सेनाको टोलीले यमबहादुर र मुकेशलाई इनारबाट निकाल्यो। दुवै बहोश अवस्थामा थिए।
दुवै जनालाई सुरक्षाकर्मीले नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याए। “अस्पतालमा पुर्याएको केही बेरमा बिहान ११ बजेतिर डाक्टरले दुवै जनालाई मृत घोषणा गर्यो,” दिलबहादुर भन्छन्, “मामा पनि गए, मामालाई बचाउन गएको छोरा पनि गयो।”
मुकेश छिमेकी गाउँ फूलबारीस्थित अम्बिकेश्वर माविमा कक्षा १० मा अध्ययनरत थिए। यो बस्तीमा धेरै पढेलेखेका कोही छैनन्।
पढाइमा अब्बल उनी त्यो दिन पनि स्कूल जाने तयारीमा थिए। इनार सफा गर्न लागेपछि सघाउन अलमलिएका थिए। “बिहानै इनार सफा नगरेको भए मुकेश त स्कूल गइहाल्थ्यो,” दिलबहादुर भन्छन्, “मजदूरी गरेर १० कक्षामा पुर्याएको थिएँ। शिक्षक बनेर गाउँमै पढाउँछु भन्थ्यो। सबैलाई सहयोग गर्थ्यो। त्यो दिन पनि यमबहादुरलाई बचाउन खोज्दा आफैं छोडेर गयो।”
दिलबहादुरका दुई सन्तान छन्। मुकेश जेठा हुन्। दिलबहादुर माइक्रोबस चलाउँछन्। त्यो दिन पनि गाडी चलाउन जाने तयारीमा थिए। मामा यमबहादुरसँग भेट भएपछि कुराकानीमा अलमलिएका थिए। त्यही वेला इनार सफा गर्ने योजना बनेको थियो। इनार करीब १० मिटर गहिरो छ। उनीहरूको निस्सासिएर ज्यान गएको चिकित्सकले बताएका छन्।
दुवै परिवारको आर्थिक अवस्था कमजोरै छ। तैपनि यमबहादुरको परिवार भने बिचल्लीमा परेको छ। तीन छोराछोरी र वृद्ध आमाबुबा उनमै निर्भर थिए। दैनिक ज्यालामजदूरी गरेर यमबहादुर र सिर्जनाले घर चलाएका थिए। “दिनभर काम गरेपछि साँझबिहानको खानेकुरा जुट्थ्यो,” सिर्जना भन्छिन्, “तीन दिन त चुलो जलेन।”
अहिले छरछिमेकीले सघाएका छन्। कसैले अन्नपात त कसैले नुनतेल जुटाइदिएका छन्। “मेरो त हातखुट्टा भाँचिए झैं भएका छन्, एक्लैले यत्रो परिवार कसरी पाल्नु!” उनी भन्छिन्।
छरछिमेकी बसेर यमबहादुरको परिवारलाई केही सहयोग गर्न दिलबहादुरलाई सहमत गराएका छन्। काजकिरिया गर्न ५० हजार रुपैयाँ सहयोग गरेको दिलबहादुर बताउँछन्। “मेरो पनि गाडी नचलाएको दिन धौधौ हुन्छ,” उनी भन्छन्।
यमबहादुरको पनि मजदूर नगरेको दिन छाक टार्नै मुश्किल हुन्थ्यो। कहिलेकाहीं उनी काम नगरी बसिदिन्थे। त्यसैले पनि त्यो दिन सिर्जनाले आफूसँगै कुखुरा फार्ममा काम गर्न लग्ने योजना बनाएकी थिइन्।
केही बेरमा आउँछु भनेर गएका यमबहादुरलाई पर्खिंदापर्खिंदै सिर्जनालाई काममा जान ढिलो भइसकेको थियो। त्यो बिहान भात पकाएर पनि उनी नखाईकनै काममा गएकी थिइन्। यमबहादुर कुखुरा फार्ममा आएपछि भात खान घर जाऔंला भन्ने सोचेकी सिर्जनाले त्यस दिनयता खानेकुरा मुखमा हाल्न सकेकी छैनन्।