स्कूलबाट घर फर्किंदा खोलामा डुबेर दुई बालकको मृत्यु
स्कूलबाट घर फर्किंदा नुहाउनका लागि खोलामा पसेका दुई बालकको डुबेर मृत्यु भएको छ।
खोटाङको ऐंसेलुखर्क गाउँपालिका-१, राखाबाँदेलका ९ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको चंखु खोलाको दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम खड्काले बताए। स्थानीय जनहित प्राविमा राज कक्षा ४ मा र अर्जुन कक्षा ५ मा अध्ययनरत थिए।
घर र विद्यालयबीच रहेको चंखु खोलामा वारपार गर्न झोलुंगे पुल छ। शुक्रबार विद्यालयबाट फर्किरहेका चार विद्यार्थीमध्ये राज र अर्जुन ‘गर्मी भयो’ भन्दै पौडी खेल्न खोलामा पसेका थिए।
उनीहरूसँगै रहेका दुई विद्यार्थी भने पुलमै बसेर हेरिरहेका थिए। पौडी खेल्न खोलाको दहमा पसेका दुवै बालक डुबेपछि पुलमा बसेर हेरिरहेका दुई बालकले गाउँमा खबर पुर्याएको स्थानीय पुरुषोत्तम राजभण्डारीले बताए।
चंखु खोला हिउँदमा सानो भए पनि वर्षामा ठूलो पानी बहन्छ। स्थानीय बासिन्दाले हिउँदको समयमा गाईवस्तुलाई पानी खुवाउनका लागि दह बनाएका थिए। अहिले वर्षाको पानीले खोलाको सतहसँगै दह पनि बढेको छ।
गर्मीमा नुहाउने गरेका विद्यार्थी बर्खामा दहमा पानी बढेको पत्तो नपाउँदा डुबेको भण्डारीको भनाइ छ। उनका अनुसार स्थानीय बासिन्दाले आएर उद्धार गर्ने वेलासम्म दुवै जनाको ज्यान गइसकेको थियो।