बागमतीमा विद्यार्थीको डुंगा दौड (तस्वीरहरू)
बागमती जोगाउने अभियानमा युवा पुस्तालाई पनि जोड्न सुन्दरीजलदेखि उत्तरवाहिनीसम्म विद्यार्थीबीच डुंगा दौड प्रतियोगिता गरिएको छ।
गोलाकार घेरामा विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, संरक्षणकर्मी र सञ्चारकर्मी हाते साङ्लो बनाएर लामबद्ध थिए। नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले आग्रह गरे, “ल अब सबैले पालैपालो एकअर्काको हात थिचेर एक घेरो पूरा गरौं।”
प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेबाट शुरू भएको यो काम क्रमैसँग फन्को मारेर उनीसम्मै पुग्दा १६ सेकेन्ड लाग्यो। आलेले फेरि आग्रह गरे, “यो क्रम अब एक चोटि दोहोर्याऔं न।”
यस पटक ११ सेकेन्डमै पूरा भयो। आलेले थपे, “हो, प्रयास गर्दै जाँदा जे काममा पनि पहिलेभन्दा राम्रो नतीजा आउन सक्छ।”
उनले ल्याउन खोजेको त्यो राम्रो नतीजा हो- स्वच्छ, हराभरा र खुला बागमती नदी। यही अभियानमा उनी सन् २००१ देखि निरन्तर छन्।
सांकेतिक रूपमा बागमती नदीलाई फन्को लगाएको यो हाते साङ्लोले विम्बात्मक रूपमा नदी संरक्षणमा एकअर्कालाई झकझक्याएको थियो। यो झकझकाइसँगै बागमती नदी महोत्सव-२०२४ का संयोजक राजीव पौडेलले नारा लगाए- जय बागमती!
उपस्थित सबैले दोहोर्याउँदा त्यो नारा सुन्दरीजलस्थित बागमती किनारका बस्तीसम्मै गुन्जियो।
भदौ ७ को झरीमा रुझ्दै आलेले भने, “साथीहरू, हामी यसै पनि महाजलयात्रामा छौं, पानीसँग के डराउनु!”
त्यसपछि सबैले पालैपालो बागमतीको पानी स्पर्श गरे। किनारमा तम्तयार थिए, डुंगा। अब हुँदै थियो- विद्यालयस्तरीय डुंगा दौड प्रतियोगिता।
विद्यार्थीलाई पहिले ‘लाइफ ज्याकेट’ पहिर्याइयो। हातमा ‘प्याडल’ थमाउनुअघि जलयात्राका क्रममा अपनाउनुपर्ने सुरक्षाका उपाय सुझाइयो। त्यसपछि प्रत्येक डुंगामा एक व्यावसायिक र्याफ्टरसँगै विद्यालयका टोलीहरू प्रवेश गरे। अनि आयोजकले इशारा गरेसँगै खियाउन शुरू गरिहाले।
यो भेगमा वरिपरि हरियाली छुँदै बग्ने बागमती नदी तलतल आउँदा बाढीले केही धमिलो थियो, तर वरिपरि कंक्रिट जंगल छुँदै बग्ने शहरी भेगमा जस्तो गन्हाउने थिएन। नदीको दुई ठाउँमा ढलानको पर्खाल र फलामको अवरोध भेटियो। विद्यार्थीले ती ठाउँमा डुंगा बोकेर किनारमा लगे र ती अवरोध छल्दै फेरि नदीमा पुर्याए।
यो जलयात्राको अन्तिम बिन्दु थियो, उत्तरवाहिनी। सात किलोमिटर दूरीको यो प्रतियोगिता ४४ मिनेटमा पूरा गर्दै गोकर्णेश्वर-१, सुन्दरीजलस्थित ओख्रेनी माविको टोली प्रथम भयो। दोस्रो स्थानमा पनि ओख्रेनीकै अर्को टोली आयो।
उसले ४७ मिनेटमा दूरी पूरा गरेको थियो। कौशलटारस्थित निस्ट स्कूल र ओख्रेनीकै टोली संयुक्त रूपमा तेस्रो भए।
सुन्दरीजलमा बागमती नदी तुलनात्मक रूपमा सफा रहेकाले तल्लो भेगमा पनि यस्तै बनाउन सकिन्छ भनेर युवा पुस्तालाई सन्देश दिन र यसमा उनीहरूलाई पनि जोड्न विद्यार्थीबीच डुंगा दौड प्रतियोगिता गराएको नदी संरक्षण संस्थाका अध्यक्ष आले बताउँछन्। “बागमती नदी हामी सबैको सभ्यता त हो नै, नेपालकै गौरव अनि लाज पनि हो,” उनी भन्छन्, “यसलाई सुधार्न जनता, नीतिनिर्माता सबै जना लाग्नुपर्छ।”
महोत्सव संयोजक पौडेल बागमतीलाई सफा बनाएर र्याफ्टिङ सहितका पर्यटकीय गतिविधिबाट आर्थिक उपार्जनमा पनि उपयोग गर्न सकिने सन्देश दिन डुंगा प्रतियोगिता आयोजना गरिएको बताउँछन्। “विदेशमा शहरकै बीचबाट बग्ने नदीहरू सफा छन्, बागमतीलाई पनि त्यस्तै बनाउन सकिन्छ, यसका लागि सरकारले आवश्यक प्रविधिहरू झिकाएर काम गर्नुपर्छ,” उनी भन्छन्।
महोत्सवले भदौ ८ मा पनि बागमती संरक्षणकै उद्देश्यले सांगीतिक र सांस्कृतिक कार्यक्रम गर्दै छ।