बाघको आक्रमणबाट पर्सामा एक जनाको मृत्यु
बाघको आक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकामा एक पुरुषको मृत्यु भएको छ।
प्रहरीका अनुसार बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका-५, शंकर सखुवनियाका ५५ वर्षीय तुलसी राउत थारूको मृत्यु भएको हो। उनी शुक्रबार साँझ गाउँ नजीकैको जंगलमा घाँस काट्न गएका थिए।
घाँस काट्न गएका उनी राति घर फर्किएनन्। स्थानीय बासिन्दाले शनिबार बिहानैदेखि खोजी थालेका थिए।
शंकरसरैयास्थित सुगिभार जंगल नजीकैको नर्सरीमा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले बताए। उनको शव भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
उनको दायाँ खुट्टा र बायाँ हात छैन। घाँटीमा बाघले कोतरेको घाउ रहेको प्रहरी निरीक्षक बुढाथापाले बताए।
घटनास्थलको जाँच मुचुल्कापछि शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाउन लागिएको प्रहरीले जनाएको छ।