मर्स्याङ्दी बस दुर्घटनामा २७ पर्यटकले गुमाए ज्यान
मर्स्याङ्दीमा यात्रुवाहक बस दुर्घटना हुँदा २७ पर्यटकको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
पोखराबाट काठमाडौंका लागि आएको भारतीय नम्बर प्लेटको यात्रुवाहक बस शुक्रबार बिहान साढे ११ बजे मर्स्याङ्दीमा खसेको थियो। तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहराको घुम्ती पार गरेलगत्तै यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दीमा खसेको इलाका प्रहरी कार्यालय, आँबुखैरेनीका प्रहरी निरीक्षक शिव थापाले बताए।
दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। केही घटनास्थलमै र केहीको उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको थापाले बताए। उनीहरूको शव आँबुखैरेनी अस्पतालमा राखिएको छ।
बस दुर्घटनामा १६ जना घाइते छन्। उनीहरूको अवस्था गम्भीर छ। सबै घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।
बसमा ४३ जना रहेको अनुमान गरिएको छ। मृतक र घाइतेको परिचय खुलेको छैन। बसमा सवार यात्रु भारतीय पर्यटक रहेको थापाले बताए।
उनीहरू पोखरा र काठमाडौं घुमफिरका लागि आएका थिए। भदौ ५ मा भारतको गोरखपुरबाट आएका उनीहरूले दुई दिन पोखरा घुमफिर गरेका थिए।
त्यसपछि उनीहरू काठमाडौंका लागि निस्केका थिए। तर काठमाडौं नपुग्दै मर्स्याङ्दीमा दुर्घटनामा परेका हुन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घाइतेको उद्धार तथा शव निकालेको हो। उनीहरू चढेको बस भने मर्स्याङ्दी नदीमै छ। शुक्रबार अँध्यारो भइसकेकाले बसलाई शनिबार निकालिने प्रहरीले जनाएको छ।