पूर्वाधार सम्मेलन भदौ अन्तिम साता
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करण भदौ २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने भएको छ।
दिगो पूर्वाधार मार्फत देशको समग्र विकास प्रक्रियालाई अघि बढाउन नीतिगत विमर्श गर्ने मञ्चका रूपमा परिसंघले सन् २०१४ देखि पूर्वाधार सम्मेलन आयोजना गर्दै आएको छ। यसअघि सन् २०१४, २०१७, २०१९ र २०२२ मा नेपाल सरकार, लगानी बोर्ड, यूथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर (वाईसीएनसी) लगायतको साझेदारीमा नेपाल पूर्वाधार सम्मेलनका चार संस्करण आयोजना गरिएका थिए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ आयोजक एवं लगानी बोर्ड र वाईसीएनसी सहआयोजक रही नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करण आयोजना हुनेछ।
यस सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले पूर्वाधारमा आवश्यक लगानी कसरी जुटाउन सकिन्छ, नीतिगत रूपमा के के सुधार गर्नुपर्छ, पूर्वाधार विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासहरू के के छन् भन्ने विषयमा गहन रूपमा सम्मेलनमा छलफल हुने जनाए। सम्मेलनबाट प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराइने उनले बताए।
सम्मेलनमा पूर्वाधारका लागि लगानी प्रवर्द्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोध लगायत विषयमा राष्ट्रिय/अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन छलफल हुनेछ।
क्षेत्रीय यातायात, ऊर्जा, शहरी विकास लगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा गहन छलफल हुने परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले बताए। सम्मेलनमा छोटो समयमै पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेका देशका विज्ञ र लगानीकर्ताको सहभागिता रहने जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुने सम्मेलनको विभिन्न सत्रमा नेपाल सरकारका मन्त्री, सरकारी अधिकारी, एशियाली विकास ब्यांक, विश्व ब्यांक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञले प्रस्तुति दिनेछन्।