मुस्ताङमा हिमपहिरो, बोक्सीखोला थुनियो
मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित धौलागिरि हिमालबाट खसेको हिमपहिरोले बोक्सीखोला थुनिएको छ।
यो कालीगण्डकी नदीको सहायक खोला हो। मूलखर्क भन्ने ठाउँको पहाडको खोंचमा हिमपहिरो थुप्रिंदा बोक्सीखोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका-२, कोवाङका वडाध्यक्ष गौतम शेरचनले बताए।
“आज दिउँसो करीब डेढ बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोंचमा थुप्रिएको छ,” वडाध्यक्ष शेरचनले भने, “हिउँको थुप्रोले खोलामा पानीको मात्रा घटेको छ।”
त्यस्तै, जिल्ला प्रशासन कार्यालय, मुस्ताङले बोक्सीखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। शुक्रबार दिउँसो सूचना जारी गरी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। नजीकमा बस्ती नभए पनि बेनी-जोमसोम सडक बोक्सीखोला किनारमा पर्छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो थुप्रिएको ठाउँमा सशस्त्र प्रहरीको टोली पठाइएको बताए। “ड्रोनबाट हिमपहिरो थुप्रिएको ठाउँको अवलोकन गर्दा खोला थुनिएर तलाउ बनेको नदेखिएकाले जोखिम कम हुने अनुमान गरेका छौं। तैपनि सतर्कता अपनाउनुपर्नेछ,” पन्तले भने।
बेनी-जोमसोम सडकमा यात्रा गर्नेहरूलाई बोक्सीखोला छेउछाउमा सतर्कता अपनाउन आग्रह गरिएको छ। खोलाको छेउछाउ चराउन लगिएका बस्तुभाउ र घाँसदाउरा गर्न गएका किसान पनि सुरक्षित ठाउँतर्फ गएका छन्।
यसअघि गत साउन ३२ मा हिमताल विस्फोट हुँदा सोलुखुम्बुको थामे खोलामा बाढी आएको थियो। थामे खोलाको बाढीले थामे बस्ती नै क्षतिविक्षत बनाएको थियो।