थारूको रगतपसिनाले सिञ्चित पार्टीले थारूलाई नै चिन्दैन (भिडिओ रिपोर्ट)
टीकापुर घटनापछि थारू समुदायले पाएको यातनाका कारण जन्मिएको नागरिक उन्मुक्ति पार्टी उनीहरूलाई नचिन्ने भएको छ भने पीडितहरू दैनिक हातमुख जोर्न नसक्ने अवस्थामा छन्।
कैलालीको जानकी गाउँपालिका-४, कञ्चनपुर गाउँका राजकुमार कठरियाको पाँच वर्ष ६ महीना जेलमा बित्यो। ठ्याक्कै आजकै दिन अर्थात् २०७२ भदौ ७ मा भएको टीकापुर घटनामा एक बालक र आठ जना सुरक्षाकर्मीको हत्याको अभियोगमा राजकुमारलाई पक्राउ गरिएको थियो।
झडपमा परी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउँद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगीको मृत्यु भएको थियो। त्यस्तै, घटनामा गोली लागेर डेढ वर्षीय बालक टेकबहादुर साउँदको ज्यान गयो।
यस घटनामा उच्च अदालत, दिपायलले २०७७ पुस २ गते राजकुमारलाई पाँच वर्ष जेल सजाय सुनायो। त्यतिन्जेल उनले कारागार सजाय काटेकै पाँच वर्ष ६ महीना पुगिसकेको थियो। राजकुमारले भदौ ७ गते थरुहट-थारुवान संघर्ष समितिले आयोजना गरेको निषेधाज्ञा तोड्ने र्यालीमा सहभागी भए बापत यति लामो जेल सजाय भोग्नुपरेको थियो।
आन्दोलनमा सहभागी राजकुमारलाई पनि गोली लागेको थियो। प्रहरीको गोली लागेर आन्दोलनस्थलमै ढलेपछि उनलाई रेडक्रसको टोलीले अस्पताल पुर्याएको थियो।
केही सन्चो भएपछि उनलाई अस्पतालबाटै पक्राउ गरिएको थियो। प्रहरीले पक्राउ गरेपछि चरम यातना दिएको उनी सुनाउँछन्।
जेल सजाय भोगेर फर्कंदा उनको घरको अवस्था नाजुक थियो। जिम्मेवारी जति उनकी श्रीमती सीता कठरियाको थाप्लोमा थियो। घरखर्चको जोहो गर्ने श्रीमान् जेलमा पुगेपछि सीताले भोगेको पीडा सानो थिएन।
भदौ ३ मा कञ्चनपुर गाउँस्थित घरमा पुग्दा कठरिया दम्पती र एक जना बालक साथमै थिए। १२ वर्षअघि आफ्नो घर छिन्नभिन्न पारेको घटना स्मरण गर्न पनि सीतालाई निकै गाह्रो भयो। “त्यति वेला सहयोग गर्ने कोही थिएन। एक्लै घर चलाउन निकै गाह्रो भो,” सीता सम्झिन्छिन्, “त्यसमाथि श्रीमान्ले पाएको यातनाले मन छियाछिया पारेको कसले देख्ने?”
जेलबाट छुटेपछि राजकुमारका अगाडि आयआर्जनको कुनै माध्यम थिएन। तर त्यतिन्जेल उनले जेलमा भोगेको पीडा भजाएर नागरिक उन्मुक्ति पार्टी (नाउपा) खोलेका रेशम चौधरी दम्पती सत्ता बनाउने/भत्काउने हैसियतमा पुगिसकेका थिए।
त्यसैले कठरिया दम्पती निकै ठूलो आश बोकी रोजगारको जोहो गरिदिन रेशमको दैलोमा हात फैलाउन पुगे। त्यति मात्र नभई आफ्नो योग्यता अनुसारको काम मिलाइदिनुस् भन्दै स्थानीय तहदेखि पार्टीका नेताहरूका घर घर पुगेका उनलाई डेढ वर्षसम्म आश्वासन मात्र दिइयो।
राजकुमारलाई सिलाइकटाइ र चारपांग्रे गाडी राम्रोसँग चलाउन आउँछ, तर उनीसँग लाइसेन्स छैन। गत वर्ष आफ्नै दल नाउपाले जितेको स्थानीय तहमा यी दुवै शीर्षकमा तालीमका लागि सूचना प्रकाशन भएको थियो। उनले त्यसमा फारम पनि भरेका थिए। तर त्यसमा सहभागी गराइएन।
आश्वासनले पेट भरिने कुरा थिएन। उनको घरको आर्थिक अवस्था दिनप्रतिदिन खस्किँदै थियो। त्यसपछि रोजगारीको खोजीमा राजकुमार हिंडे, भारततिर। उनले हिमाञ्चल प्रदेशको सिमला र रत्नागिरीमा स्याउ टिप्ने र माछा मार्ने काम पाए। त्यही कामबाट परिवार पाल्न थाले।
सात-आठ महीना भारतमा काम गर्ने र बाँकी समय परिवारसँग बिताउने गरी घर आउजाउ गर्न थाले। नेपाल-भारत आउजाउ गरेर दैनिकी चलाइरहेका उनलाई शुरूआतमा नेताको घर घर पुगेर समय खेर फालेको महसूस हुन्छ। “शुरूमा थरुहट नेताहरूको आश्वासनमा समय खेर फाल्यौं। नाउपाले जितेपछि रेशम चौधरीले पनि निकै आश्वासन दिए,” राजकुमार भन्छन्, “तर स्थानीय स्तरदेखि केन्द्रसम्म आफ्नो मान्छेलाई मात्रै काममा लगाए। हामीलाई सानो काम भए पनि दिनुस् भन्दा केही गरेनन्।”
आन्दोलन नभइदिएको भए नाउपा जन्मँदैनथ्यो। राजकुमारहरूले गोली, यातना र जेल सजाय भोगेपछि नाउपाको बीजारोपण भएको थियो। रेशमले जेलबाटै पार्टीको अभिभारा पत्नी रञ्जिता श्रेष्ठलाई सुम्पेका थिए। टीकापुरमा थारूमाथि भएको ज्यादतीका कारण आक्रोशित थारू समुदायका मतदाताले एकछापे भोट दिई नाउपाका उम्मेदवारलाई सत्तासीन गराइदिएका थिए। किनकि त्यति वेला आफ्नो ‘सत्ता’ आएपछि थारूका दिन आउँछन् भनिएका थियो।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पार्टी निर्माणमा टीकापुर घटनाबाट पीडितको ठूलो भूमिका रहेको बताउँछिन्। “यो पार्टी जन्मनुमा उहाँहरूको ठूलो योगदान छ। सबैको योगदानलाई मैले सम्झेको छु,” उनी भन्छिन्।
उसो त सीताले पनि थारू नेताहरूसँग केही ठूलो माग राखेकी छैनन्। मात्र तीन जनाको पेट पाल्न ‘रोजगारी मिलाइदेऊ’ भनेकी मात्र हुन्। तर कसैले नसुनेको उनी गुनासो गर्छिन्। “पालिकामा र वडामा थुप्रै खालका तालीमहरू खुलेका हुन्छन्। मैले कैयौं चोटि फारम पनि भरें, तर अहिलेसम्म सहभागी गराइएको छैन,” सीता भन्छिन्।
टीकापुर नगरपालिका-७, ओखरपुर मुक्त कमैया शिविरस्थित हरिनारायण चौधरीको घरमा पुग्दा उनको गुनासो पनि राजकुमारको भन्दा फरक थिएन। उनी पनि भदौ ७ को थरुहट आन्दोलनका कारण आठ वर्ष २४ दिन जेल बिताएर फर्किएका हुन्। टीकापुरस्थित मुक्त कमैया शिविरमा उनको पाँच कट्ठा मात्र जमीन छ।
आफ्नै दल नाउपाले जितेको नगरपालिकाले थोरै अनुदान मिलाइदिए कृषि उद्यमबाट केही गर्न सकिन्छ कि भन्ने आश थियो। त्यसैका लागि हिजो थारू मुक्तिका निम्ति सँगै लडेका जनप्रतिनिधिका अगाडि निवेदन बिसाउन गए, तर हरिनारायणको कुरा कसैले सुनिदिएन।
कतैबाट केही नभएपछि उनलाई आफ्नै गाउँमा बनाइएको कभर्डहलमा नोकरीमा राखिएको छ। भारत जान हिंडिसकेका हरिनारायणलाई गाउँलेहरूले रोकेर कभर्डहलमा सफाइ कर्मचारीका रूपमा राखेका हुन्। बिहान ५ देखि १० बजेसम्म काम गरे बापत मासिक सात हजार रुपैयाँ पाउँछन्।
त्यतिले उनको घर चल्दैन। त्यसैले एउटा जुक्ति निकालेका छन्, कभर्डहलमै सानो क्यान्टिन चलाउने। हरिनारायण भन्छन्, “योग्यता अनुसार काम माग्दा पनि दिएनन्। कल्लाई के भन्ने?”
यस्तो पीडा राजकुमार र हरिनारायणको मात्र होइन, थरुहट आन्दोलनमा लागेका कारण जेल सजाय भोगेका सबैको हो। सबैको हालत करीब उस्ताउस्तै छ। टीकापुर घटनापछि २७ जना जेल परेका थिए। ५८ जनामाथि हत्या, आगजनी, लूटपाट जस्ता गम्भीर आरोपमा मुद्दा चलाइएको थियो, जसमध्ये फरार सूचीमा रहेका ३१ जनालाई अझै लुकिछिपी हिंड्न परिरहेको छ।
उनीहरू अधिकांश भारतमा बसेर परिवार पालिरहेका छन्। अधिवक्ता गम्भीरसिंह ऐरका अनुसार गम्भीर अभियोग लगाइएका उनीहरू फरार सूचीमा रहेकाले मुद्दा चल्ने डरले लुक्दै हिंडेका छन्। उनी भन्छन्, “पक्राउ परेपछि उनीहरूको मुद्दा जाग्छ, अनि प्रक्रिया अनुसार फैसला हुन्छ।”
एकातिर टीकापुर घटनाका आरोपीहरू अझै प्रताडित छन् भने अर्कातर्फ उनीहरूको नाममा नाउपाको नेतृत्व सत्तालिप्सामा रमाइरहेको देखिन्छन्।
भदौ ७ मा सुरक्षाकर्मीको ज्यान गएको भोलिपल्ट टीकापुरमा कर्फ्यूबीच थारू समुदायका घर घरमा लुटपाटमा भएको थियो। त्यति वेला थारू समुदायका घर, पसल, एफएम लगायत ८३ भन्दा बढी संरचनामाथि आगजनी गरिएको थियो। यो घटनाले सिंगो थारू समुदायलाई एकजुट बनायो। त्यसको प्रतिफल नाउपालाई सफल बनाउन सबै लागे।
२०७९ सालको निर्वाचनमा कैलालीका १३ स्थानीय तहमध्ये चार वटा (टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिका)मा जित हासिल गरेको थियो। नाउपा मेयर दुई जना, उपमेयर एक जना, गाउँपालिका अध्यक्ष दुई जना र उपाध्यक्ष दुई जना निर्वाचित भएका छन्।
यसैगरी, वडाध्यक्ष १४ जना, महिला वडा सदस्यमा १९ जना, दलित महिला वडा सदस्यमा १८ जना र वडा सदस्यमा २० जना निर्वाचित भएका छन्। त्यसैगरी, प्रतिनिधि सभामा चार जना, सुदूरपश्चिम प्रदेश सभामा सात जना, लुम्बिनी प्रदेशमा चार जना र मधेश प्रदेशमा एक गरी १६ जना सांसदले चुनाव जितेका छन्।
तर उनीहरूलाई पनि पीडितले आफ्ना प्रतिनिधिका रूपमा लिन सकेका छैनन्। “आन्दोलनले धेरैको घर तहसनहस गरिदिएको छ। थारूले पाएको दुःखपीडा बुझ्ने रेशम चौधरी हुन् जस्तो लागेको थियो, तर त्यो गलत साबित भयो,” टीकापुरमा पक्राउ परेका रामप्रसाद चौधरी भन्छन्।
टीकापुर घटनामा पक्राउ परेकामध्ये सबैभन्दा बढी यातना आफूले पाएको उनी बताउँछन्। तीन वर्ष जेल जीवन बिताएका रामप्रसाद भन्छन्, “रेशमले थारूको मुद्दा उठाएर पार्टी खोल्दा हामी निकै आशावादी थियौं। तर रेशमले जुन धरातल टेकेर पार्टी खोले, त्यही धरातललाई बिर्सिदिए।”
टीकापुर घटनामा मुद्दा खेपेकाहरूलाई नाउपा लगायत थारू समुदायसँग सम्बन्धित संघसंस्थाले राजबन्दीको सम्मान दिएर बोलाउँछन्। रामप्रसादको भनाइमा हिजो पक्राउ परेका राजबन्दीहरू अहिले पनि एक जोर नयाँ कपडा किन्न र मीठोमसिनो खानाको जोहो गर्न सकिरहेका छैनन्। किनकि पक्राउ पर्ने करीब सबैजसो आर्थिक रूपले कमजोर भइसकेका छन्। धेरैको घरबार रित्तिएको छ। सबै दैनिक ज्यालामजदूरी गरेर जीविका चलाइरहेका छन्।
जेलबाट छुटेकालाई अहिले कसैले हेरेको छैन। उनीहरूको पीडा कसैले सुनेको छैन। उनीहरू हिजो पनि कमजोर थिए, आज झन् निरीह छन्। रेशमका अत्यन्त निकट मानिएका कुनै वेलाका माओवादी कमान्डर तथा थरुहट आन्दोलनका नेता लक्ष्मण चौधरी अहिले रेशमबाट टाढिएर कृषि फार्म खोलेर बसेका छन्।
लक्ष्मणका अनुसार टीकापुर घटनामा मुद्दा लागेका अधिकांश भारततिरै छन्। चार वटा परिवार आफूसँगै फार्ममा काम गरिरहेको उनी सुनाउँछन्। लक्ष्मण भन्छन्, “रेशमले जेलबन्दीहरूको पीडा भुलिसके। उनलाई थारूको दुःख, पीडा र मुद्दाबारे कुनै मतलब छैन। उनी पार्टी खोलेर पैसा कमाउने र परिवार चलाउने काम मात्रै गरिरहेका छन्।”
हुन पनि नाउपा अध्यक्ष एवं सांसद रञ्जिता र रेशमबीच राजनीतिक भागबन्डा नमिलेपछि एकअर्का विरुद्ध उभिएका छन्। उनीहरूको झगडा मिडियामा छताछुल्ल भएको थियो। यी दुईको झगडाका कारण सुदूरपश्चिम प्रदेशमा पाउनै लागेको मुख्यमन्त्री पद समेत हातबाट फुत्किएको थियो। अहिले पनि यी दम्पतीबीचको विवादले नाउपाका नेता तथा कार्यकर्ता अन्योलमा छन्।
अध्यक्ष श्रेष्ठ पनि उनी राजबन्दीको धेरै गुनासो आउने गरेको सुनाउँछिन्। सबैलाई नभए पनि केहीलाई सहयोग गरेको उनको भनाइ छ। “म सबै राजबन्दी परिवारको सम्पर्क नभए पनि केही राजबन्दीको सम्पर्कमा छु। एकै पटक सबैलाई काम दिलाउन गाह्रो हुन्छ,” उनी भन्छिन्, “अहिले मन्त्रीको स्वकीय सचिवालयमा राजबन्दी प्रदिप चौधरीलाई नै राखेका छौं। विस्तारै सबैको पालो आउँछ।”
अध्यक्ष श्रेष्ठ आफ्नो क्षेत्रका मतदाताको सम्पर्कमै रहेको बताउँछिन्। “धेरै गर्न नसके पनि समस्या लिएर काठमाडौंसम्म आउनेहरूको समस्या सुन्ने, एकदमै अप्ठ्यारो परेका बिरामीलाई भर्ना समेत गरेको छु,” उनी भन्छिन्।
तर जसका लागि पार्टी खोलिएको हो, उनीहरू भने दैनिक जोहो गर्न भारततिर गइरहेका छन्। त्यस्तैमध्ये एक हुन्, भजनी नगरपालिका-८, खैराका सन्तराम चौधरी। जेल सजाय भोगेर निस्किएका उनी ऋण तिर्न नसकेर पत्नी यमुना चौधरी सहित भारत पुगेका छन्। उतै मजदूरी गर्छन्।
थारू नागरिक समाजका अगुवा दिलबहादुर चौधरी थारूको मुद्दाबाट जन्मेको नाउपा अहिले मुद्दाभन्दा बाहिर गइसकेको बताउँछन्। उनी भन्छन्, “हामी अहिले पनि दास नै छौं। कोही दलको दास, कोही राज्यको दास। त्यसमाथि रेशमको नाउपा पनि थपिएको छ।”
फरार सूचीमा रहेकाहरू
रामचन्द्र चौधरी, सन्तकुमार चौधरी, धनीराम चौधरी, फूलराम चौधरी, विकास भनेर चिनिने बालकृष्ण चौधरी, शिवकुमार चौधरी, चमन चौधरी, खुशीराम चौधरी, डम्मर कठरिया, ईश्वरीप्रसाद चौधरी, बन्धाराम थारू, माझिद भनेर चिनिने सुरज मिया हास्मी, दिनेश कठरिया, कालु रावत, विमल रावत, सन्दीप चौधरी बडायक, शिवराज कठरिया, बलिराम चौधरी, लाहानु चौधरी, नीरज राना, रामलाल चौधरी, काठराम चौधरी, टीकाराम कठरिया, भागीराम चौधरी, बाबुराम चौधरी, रामबहादुर चौधरी, विश्राम चौधरी, शेरे चौधरी, सन्तराम चौधरी, भीमबहादुर चौधरी र रमेश चौधरी।
यो पनि पढ्नुहोस् :