मर्स्याङ्दी बस दुर्घटनामा १५ जनाको मृत्यु
मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बस शुक्रबार बिहान तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहराबाट मर्स्याङ्दीमा खसेको थियो। दुर्घटनामा १५ जनाको मृत्यु भएको आँबुखैरेनी इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक शिव थापाले बताए।
प्रहरी निरीक्षक थापाका अनुसार उनीहरूको घटनास्थलमै ज्यान गएको हो। “दुर्घटनामा १५ जनाको मृत्यु भएको छ, सबैको दुर्घटनास्थलमै मृत्यु भएको हो,” थापाले हिमालखबरसँग भने।
दुर्घटनामा १२ जना घाइते भएका छन्। उनीहरूको नजीकको स्वास्थ्य संस्था र घटनास्थलमै उपचार भइरहेको छ। स्वास्थ्यकर्मीको टोलीले घटनास्थलमै प्राथमिक उपचार गरिरहेको प्रहरी निरीक्षक थापाले बताए।
बसमा ४० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ। अन्य यात्रुको खोजी भइरहेको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ।
शुक्रबार बिहान यूपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौंका लागि गुडेको थियो। बसमा भारतीय यात्री सवार थिए। दुर्घटनाको कारण खुलेको छैन।