अनशनरत युवासँग सहमति, कमला नदीमा नयाँ पुल बनाइने
अनशनरत युवा र मधेश प्रदेश सरकारबीच धनुषा र सिरहा जोड्ने कमला नदीमा नयाँ पुल निर्माण गर्ने सहमति भएको छ।
मधेश प्रदेश सरकारले नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा-धनुषासँग पुल निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने र यो वर्ष नै डीपीआर गर्ने सहमति गरेको हो। मुख्यमन्त्री सतिशकुमार सिंहले सहमति गरेसँगै १० युवाले अनशन तोडेका छन्।
प्रदेश सरकार र संघर्ष समितिबीच वार्तापछि नयाँ कमला पुलको निर्माण गरिने, यसका लागि आव २०८२/८३ मा संघीय सरकारबाट बजेट विनियोजनका लागि पहल गर्ने, अन्यथा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारको स्रोतबाट बेहोर्ने सहमति भएको छ। आउँदो मंसीर १ भित्र पुल निर्माणको डीपीआर तयारीका लागि बोलपत्र आह्वान गरिने र नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा-धनुषाको संघर्षका सम्पूर्ण कार्यक्रम आजैको मितिबाट स्थगन गर्ने सहमति भएको छ।
कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि चार दिनदेखि १० युवा आमरण अनशनमा बसेका थिए।
सिरहा नगरपालिकाका इन्जिनीयर प्रवीणकुमार यादवको नेतृत्वमा औरही गाउँपालिका-३ का वडाध्यक्ष जिवछ यादव, सिरहा नगरपालिकाका-४ का वडाध्यक्ष सम्साद आलम, औरही-४ का वडाध्यक्ष सुरेन्द्र यादव, सिरहा-६ का वडाध्यक्ष इन्द्रजित यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, इन्जिनीयर शिवशंकर यादव, शैलेश गोइत, हिन्दू सम्राट् सेनाका मनीषकुमार यादव, सिरहा-८ का वडा सदस्य रूपेश कुमार यादव आमरण अनशनमा बसेका थिए।