राष्ट्रसंघद्वारा टीआरसी विधेयकको स्वागत, नेपाललाई सघाउने प्रतिबद्धता
संयुक्त राष्ट्रसंघले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संघीय संसद्बाट पारित भएकामा स्वागत गरेको छ।
शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन-कानून बनाउने विधेयक बिहीबार राष्ट्रिय सभाबाट पनि पारित भएको छ। यसअघि प्रतिनिधि सभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक नेपालका दुवै सदनबाट पारित भएकामा त्यसको स्वागत गर्दै विधेयकको कार्यान्वयन पीडितकेन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
शान्ति सम्झौता भएको १८ वर्षपछि पारित उक्त विधेयक नेपालमा दिगो शान्ति स्थापनामा कोशेढुंगा सावित हुने उनको विश्वास छ। सत्य निरूपण र मेलमिलाप सम्बन्धी सबै मुद्दा निरूपण गर्न अब सहज हुने उनले जनाएका छन्।
वक्तव्यमा उच्चायुक्त टर्कले पारदर्शी ढंगले दुवै आयोगमा स्वतन्त्र व्यक्तिहरूलाई पदाधिकारीमा नियुक्त गर्नुपर्नेमा जोड दिएका छन्। शान्ति प्रक्रियालाई सफलतापूर्वक तार्किक निष्कर्षमा पुर्याउने उदाहरणीय मुलुकका रूपमा नेपाल क्षेत्रीय एवं अन्तर्राष्ट्रिय जगत्मा स्थापित भएको उल्लेख गर्दै उनले शान्ति प्रक्रियाको यो महत्त्वपूर्ण चरणमा नेपाल सरकारलाई हरतरहले सहयोग गर्न आयोग तत्पर रहेको जनाएका छन्।
यो पनि पढ्नुहोस् :