टिकटक खुला गर्ने सरकारको निर्णय
सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ मा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटक खुला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए। केही शर्त सहित टिकटक खुला गर्ने निर्णय भएको उनले बताए।
टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउनुपर्ने, विद्युतीय साक्षरतामा सघाउनुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सघाउनुपर्ने र कन्टेन्टको भाषामा ध्यान दिनुपर्ने शर्त राखिएका छन्।
प्रवक्ता गुरुङले भने, “हामीले यी शर्तहरू राख्दा टिकटकले स्वीकार गर्ने भएपछि अहिलेलाई नीतिगत रूपमा टिकटक खुला गरेका छौं।” यसका आधारमा टिकटकले सरकारसँग सम्झौता गरेपछि सञ्चालन गर्न दिइने प्रवक्ता गुरुङले बताए।
टिकटकको प्रयोगले विकृति बढाएको भन्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत कात्तिक २७ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। त्यति वेला सरकारको उक्त कदमको चर्को आलोचना भएको थियो।