पोखरा विमानस्थलको ऋणलाई अनुदानमा बदल्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र पठाएको छ।
अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै बिहीबार चिनियाँ पक्षलाई पत्र लेखेको हो। अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई बिहीबार पत्र हस्तान्तरण गरेका छन्।
पत्र हस्तान्तरण गर्नुअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिंदै पोखरा विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न आग्रह गरेका थिए। पौडेलले नेपाल सरकारले गरेको आग्रह चिनियाँ पक्षबाट पूरा हुने विश्वास व्यक्त गरे। कार्यक्रममा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, नेपालका लागि चीनका राजदूत चेन सोङ लगायत उपस्थित थिए।
पोखरा विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम ब्यांकबाट करीब २५ अर्ब ८८ करोड रुपैयाँ (१,३३८.७४ मिलियन चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो। २०७२ चैत ८ मा पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता भएको थियो भने २०७३ पुस २७ बाट निर्माण शुरू भएको थियो। २०७९ पुस १७ मा विमानस्थलको उद्घाटन गरिएको थियो।
त्यस्तै, काठमाडौं चक्रपथको कलंकीदेखि बसुन्धरा महाराजगन्जसम्म ८.२ किलोमिटर सडक निर्माण, हिल्सा-सिमिकोट सडकखण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आईसीपी र आईसीडी निर्माण तथा अरनिको राजमार्गको मर्मतसुधार तथा पहिरो नियन्त्रण सम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी चार वटा छुट्टाछुट्टै सहयोग आदानप्रदान सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ।
नेपाल सरकारका तर्फबाट अर्थसचिव घिमिरे र चीनका तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनले हस्ताक्षर गरेका हुन्।