थामे बस्ती बगाउने गरी फुटेको हिमतालले दिने संकेत र अपनाउनुपर्ने तत्परता
थामे बस्तीमा क्षति पुर्याउने गरी भएको हिमताल विस्फोटबारे विस्तृत अध्ययन हुनुपर्छ, जसले गर्दा भविष्यमा यस्ता घटनाबाट हुने क्षति कम गर्न सकियोस्।
सोलुखुम्बुको थ्यानबो हिमनदीको पुछारमा रहेका हिमतालमध्ये सबैभन्दा तलको एउटा हिमताल फुटेर गत साउन ३२ मा थामे खोलामा आएको बाढीले थामे बस्तीमा ठूलो क्षति पुर्यायो। हिमताल फुटेर आएको बाढीले ल्याएको गेग्रान खोलाको पिंधमा थुप्रिन गई सतह उठ्दा खोलाले बाटो परिवर्तन गरी विभिन्न भँगाला भई बगेको र त्यसका कारण धेरै घर भत्किएको चर्चा हिमालखबरमै अघिल्लो लेखमा गरिसकिएको छ।
यस लेखमा हिमताल के कारण फुट्न गयो भन्ने सम्बन्धमा आएका जानकारी र उक्त घटनाबारे कस्तो अध्ययन हुनुपर्छ भन्नेबारे चर्चा गरिएको छ।
उक्त हिमताल फुट्नुको कारण हालसम्म पत्ता लागिसकेको छैन। यसबारे विभिन्न अनुमान गरिएको पाइन्छ। १) हिउँ तथा चट्टानको पहिरोले गर्दा माथि रहेको हिमतालमा (चित्रमा हिमताल १) छाल पैदा भई बढी पानी बगेर तल्लो तालको (चित्रमा ताल ३) पानीको सतह बढ्नु, २) लगातार वर्षाको कारण तालको पानीको सतह बढ्नु, ३) भूकम्पको कारण तल्लो तालको पानी छचल्किन गई फोस्रो माटो तथा गेग्रानले बनेको बाँध (मोरेन ड्याम) भत्किन गई बाढीको रूप लिएको भनी विभिन्न विशेषज्ञले आकलन गरेको पाइन्छ।
हेलिकोप्टरबाट खिचिएका फोटो र भिडिओहरू हेर्दा माथिल्लो तालको सिरानपट्टि हिउँको ढिक्का तालमा तैरिइरहेको र किनारको पहाडी ढालको केही भागबाट चट्टान तल खसेको जस्तो देखिन्छ (चित्र १,२,३)। तर हिउँ तथा चट्टानी ढुंगाहरू कुन परिमाणमा कहिले खसेका थिए र तिनले कत्रो छाल पैदा गरेका थिए भनेर हालसम्म यकीन भएको छैन। यी पाटो यकीन नभएसम्म माथि उल्लिखित अनुमान सही हो भन्ने आधार हुँदैन।
माथिल्लो ताल (ताल १) को अन्तिम बाँध (टर्मिनल मोरेन) कडा चट्टानले बनेका कारण ताल छचल्किएर बगेको पानीले बाँधलाई सजिलै काटेर धेरै पानीको बहाव सिर्जना गर्न सक्दैन। माथिल्लो ताल (ताल १) र तल्लो ताल (ताल ३) दुवैको पानी धमिलो देखिन्छ।
माथिल्लो तालबाट औसतभन्दा निकै बढी पानी बाहिरिएको भए नदीको बाटो वा किनारमा केही परिवर्तन वा चिह्न देखिनुपर्ने हो। तर माथिल्लो र तल्लो तालको बीचमा खोला र यसको किनाराको भागमा त्यस्तो परिवर्तन वा चिह्न देखिंदैन।
एउटै जलाधारभित्र रहेको माथिल्लो तालबाट तल्लो तालमा पानी र माटो बगेर जानु सामान्य कुरा हो। ताल फुट्ने घटनाको वेला त्यस्तो प्रक्रिया असाधारण नरहेको भन्ने प्रमाण दुई तालको बीचको भागमा देखिंदैन। यसलाई यकीन गर्न विस्तृत स्थलगत अध्ययन हुनु जरूरी छ।
उक्त क्षेत्रमा लगातार पानी परेको र त्यसले गर्दा तालको सतह बढेर बाँध फुटेको हो भन्ने धारणालाई यकीन गर्न घटना हुनुभन्दा अगाडि कति पानी परेको थियो भन्ने तथ्यांक हेर्नुपर्ने हुन्छ। तर त्यस्तो तथ्यांक हालसम्म उपलब्ध हुन सकेको छैन।
उक्त समयमा भूकम्प गएको र त्यसको कारणले बाँध फुटेको हुन सक्ने अनुमान पनि गरेको पाइयो। तर केकति मानको भूकम्प कुन बिन्दुमा गएको र कति टाढा हो भन्ने पूर्ण विवरण प्राप्त हुन सकेको छैन। त्यस क्षेत्रमा उक्त घटना हुनुभन्दा अगाडि भूकम्पको अनुभव गरिएको थियो/थिएन, यस सम्बन्धमा जानकारी लिनु जरूरी छ।
अर्को अत्यन्त महत्त्वपूर्ण कुरा, तालको पानीको सतह बढेर बाँधमाथिबाट पानी बगी (ओभरटपिङ) वा पानीको चुहावट (पाइपिङ) वा नदीको बाटो कटान वा बाँध भासिन जानाले पानी बगेको हो, सो कुराबारे अहिलेसम्म केही छलफल भएको देखिंदैन। त्यस्तै, तालमा कति पानी थियो, कति बगेर गयो, सोको पनि यकीन भएको छैन।
हिमताल र हिमताल विस्फोटनका घटनाका सम्बन्धमा स्थानीय बासिन्दाको अनुभव वा धारणा कस्तो छ भन्ने पनि महत्त्वपूर्ण हुन्छ। हिमताल नफुटोस् भनेर स्थानीय बासिन्दाले पूजाआजा गरेको र केही दिनमै फेरि पूजा गर्न जाने योजना बनाएको भन्ने पनि सुन्नमा आयो।
किन फेरि पूजा गर्न जाने कुरा गरियो- हिमतालमा पानीको सतह बढ्दै गएकाले वा खोलामा पानीको मात्रा बढ्दै गएकाले वा हिमतालबाट माटो र गेग्रान सहितको पानी बाँधबाट चुहिन थालेकाले वा अन्य कारणले भन्नेबारे विस्तृत जानकारी आउन बाँकी नै छ।
यी उल्लेख गरिएका सूचना तथा तथ्यांकको संकलन र विश्लेषण गरी सत्यतथ्य पत्ता लगाउन सके भविष्यमा हिमताल फुटेर हुन सक्ने जोखिम व्यवस्थापन गर्न सघाउ पुग्नेछ।
विगतमा विभिन्न समयमा सोलुखुम्बुकै नारे, दिक्सो र तामपोखरी हिमताल फुटेपछि केही अध्ययन भएका थिए। पछिल्लो घटनाको पनि विस्तृत अध्ययन हुनुपर्छ, जसले गर्दा भविष्यमा यस्ता घटनाबाट हुने क्षति कम गर्न सकियोस्।
यो पनि पढ्नुहोस् :