डुबानले कैलालीका १७ सय परिवार विस्थापित
लगातारको वर्षासँगै आएको बाढीले डुबान हुँदा कैलालीका एक हजार ७०० भन्दा बढी परिवार विस्थापित भएका छन्।
कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिका लगायत आसपासका क्षेत्र डुबानमा परेका हुन्। दुवै स्थानीय तहका ५७२ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ती घरमा बस्ने एक हजार ७०० भन्दा बढी परिवार विस्थापित बनेका हुन्।
दुई दिनदेखि कैलाली र आसपासको क्षेत्रमा वर्षा भइरहेको छ। लगातारको वर्षाले खोलानाला र नदीमा पानीको सतह बढेको छ। त्यही पानी गाउँमा पस्दा डुबान भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।
डुबान क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। विस्थापितलाई वडा कार्यालय, पालिकाको भवन, विद्यालय र उच्च स्थानमा रहेका घरमा सारिएको जोशीले बताए।
गए राति कैलालीका विभिन्न स्थानमा अत्यधिक वर्षा भएको थियो। लगातार तीन घन्टासम्म अत्यधिक वर्षा हुँदा पूर गाउँपालिका प्रभावित भएको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताए।
कैलारी गाउँपालिकामा मात्रै वडा नं ७ का ८० घर, वडा नं ८ मा ७१ घर, वडा नं ३ मा ४६ घर, वडा नं १ मा १०१ घर र वडा नं ५ का १७४ घर डुबानमा परेको चौधरीले जानकारी दिए।
त्यस्तै, भजनी नगरपालिकामा ४०० भन्दा बढी घर डुबानमा परेका छन्। आसपासका स्थानीय तहमा पनि सयौं घर डुबानमा पर्दा जनजीवन प्रभावित भएको जोशीले बताए।