विद्यार्थीले नै क्याम्पसमा बम विस्फोट गराए
दाङको महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीले नै बम विस्फोट गराएको पाइएको छ।
बिहीबार क्याम्पस अगाडि बम विस्फोट भएको हो। मोटरसाइकलमा आएका दुई जनाले सुतली बम फालेर गएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमल्सिनाले बताए।
क्याम्पस अगाडि सुतली बम विस्फोट भएको थियो। ठूलो आवाजले बम विस्फोट हुँदा स्थानीय बासिन्दा त्रसित बनेका थिए।
बम फालेर भाग्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका-१५ का अभियान थापा र शुभम् कार्की पक्राउ परेको डीएसपी तिमल्सिनाले बताए।
उनका अनुसार पक्राउ परेका दुवै विद्यार्थी हुन्। कार्की सोही क्याम्पसमा अध्ययरत छन्। त्यस्तै, थापाले भर्खरै कक्षा १२ को पढाइ सकेका छन्।
दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। प्रहरीसँगको बयानमा उनीहरूले रमाइलोका लागि बम फालेको बताएको डीएसपी तिमल्सिनाको भनाइ छ।