एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
सातै प्रदेशबाट प्राप्त १६५ भन्दा बढी प्रस्तावमध्ये १८ वटा विकास योजना छनोट गरेको थियो। तिनै योजनाहरू कार्यान्वयनमा ल्याइएको एनसेलले जनाएको छ।
बागमती प्रदेशमा प्लास्टिक वेस्ट मेनेजमेन्ट, डिजिटल साक्षरता कार्यक्रम तथा म्यूजियमको माध्यमबाट नेपालको कला तथा संस्कृतिको प्रवर्द्धनको कार्यक्रम छन्। गण्डकी प्रदेशमा स्कूल जान छाडेका तथा स्कूलबाट बाहिर रहेका बालबालिकालाई पुनः स्कूल पठाउन स्कूल फर आउट अफ स्कूल चिल्ड्रेन, हुप्सेकोटमा स्वास्थ्य सम्बन्धी न्यूट्रिशन, वास सम्बन्धी कार्यक्रम तथा वातावरण संरक्षण तथा प्रवर्द्धनका लागि ग्रीन बक्स कार्यक्रम सञ्चालन गरेको छ।
कोशी प्रदेशमा ६ हजार महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ तथा पर्यटकको सुरक्षाका लागि जनसचेतना कार्यक्रम छन्। लुम्बिनी प्रदेशमा हेल्थ क्याम्प र सामुदायिक विद्यालयमा ग्रीन स्कूलको अवधारणा विकासका लागि परियोजना सञ्चालन भइरहेको एनसेलले जनाएको छ।
मधेश प्रदेशमा युवाको क्षमता विकास तथा जीविकोपार्जनका लागि सीप विकासका कार्यक्रम तथा विद्यालयमा शिक्षा सामग्री तथा शैक्षिक विकासका कार्यक्रम छन्। सुदूरपश्चिम प्रदेशका पाँच वटा मोडल स्कूलमा स्टेम एजुकेशन, बैतडीका ५६ वटा स्कूलका शिक्षकको तालीम तथा विकासका आयोजना छन्। कर्णाली प्रदेशमा वास सम्बन्धी तथा फोहोरमैला वर्गीकरण तथा फोहोरबाट कम्पोस्ट मलको उत्पादन सम्बन्धी कार्यक्रम छन्।
सातै प्रदेशमा कार्यक्रम कार्यान्वयनमा आएको एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले बताइन्। हरेक योजनाका लागि एसनेलले १० लाख रुपैयाँ सहयोग गरिरहेको छ।