एचआईभी संक्रमित कर्मचारीलाई राजीनामा दिन दबाब
एचआईभी र हेपाटाइटिस ‘बी’ को संक्रमण देखिएका कर्मचारीलाई वीरगन्जको एक उद्योगले राजीनामा गर्न दबाब दिएको छ।
वीरगन्ज महानगरपालिका-३२, जितपुर परसवास्थित फ्लेर हिमालयन प्रालिले गत असार १ मा १८ जना कर्मचारीको नियमित स्वास्थ्य जाँच गरायो। वीरगन्जस्थित सूर्या अस्पतालमा स्वास्थ्य जाँच गराउँदा एक कर्मचारीमा एचआईभी र अर्कामा हेपाटाइटिस ‘बी’ देखियो।
सूर्या अस्पतालले काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुनः परीक्षणका लागि पठायो। टेकुमा परीक्षण गर्दा पनि उही नतीजा देखियो। अस्पताल लैजाने र जाँच गर्ने खर्च उद्योगले नै बेहोरिरहेको थियो। त्यसपछि भने उद्योगले गर्ने व्यवहार फेरिएको कर्मचारी बताउँछन्।
उद्योगका एचआर समिम अहमदले फोन गरेर राजीनामा दिन दबाब दिएको कर्मचारीले गुनासो गरेका छन्। एचआईभी संक्रमण देखिएका कर्मचारी २०६२ फागुन २६ गतेदेखि र हेपाटाइटिस ‘बी’ देखिएका कर्मचारी २०५७ मंसीर १ गतेदेखि उद्योगमा स्थायी कर्मचारीका रूपमा कार्यरत छन्। एक जना अलराउन्डर हुन् भने अर्का मशिन अपरेटर।
स्वास्थ्य जाँचपछि उनीहरू गत असार ३ देखि उपचार गराउन बिदामा बसेका थिए। उपचारपछि साउन अन्तिम साता काममा फर्किंदा कार्यालयभित्र पस्न नदिइएको उनीहरूले गुनासो गरेका छन्। साउन २७ मा एचआर अहमदले टेलिफोन गरेर काममा नआउन र लिखित राजीनामा पेश गर्न दबाब दिएको उनीहरूले बताएका छन्।
कम्पनीका एचआर अहमदसँग टेलिफोन सम्पर्क गर्दा उनी यस विषयमा बोल्न चाहेनन्। यस उद्योगले हर्बल र पशु स्वास्थ्य सम्बन्धी औषधि उत्पादन गर्दै आएको छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) फ्लेर हिमालयन उद्योग कमिटीका अध्यक्ष जितन पटवारीले दुई जना कामदारलाई निकाल्न लागेको थाहा पाएपछि श्रम कार्यालय, वीरगन्जमा निवेदन दिएको बताए। दुवै जनालाई काम गर्न दिन आग्रह गर्दै उद्योगलाई पनि पत्र पठाएको पटवारीले बताए। “यसरी कामबाट निकाल्न पाइँदैन। यसको विरोध गर्छौं,” उनले भने।
श्रम कार्यालय, वीरगन्जका प्रमुख रुद्रनारायण साह अरूलाई फैलन सक्ने अवस्थामा सावधानी अपनाउनुपर्ने तर अरूलाई सहजै नसर्ने रोग भएमा डराउनुनपर्ने बताउँछन्। एचआईभी र हेपाटाइटिस ‘बी’ सामान्यता खोक्दा, हाछ्युँ गर्दा, सँगै बसेर खाँदा वा काम गर्दा सर्ने रोग होइनन्।
एचआईभीको औषधि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ। नियमित औषधि सेवन गरी स्वस्थ जीवनशैली अपनाए सामान्य मानिस सरह जीवनयापन गर्न सकिन्छ। हेपाटाइटिस ‘बी’ रगतबाट सर्छ, कलेजोलाई असर गर्छ। यसको पनि औषधि पाइन्छ।
सूर्या अस्पतालका डा. सरोज सिंह अन्य स्वास्थ्य समस्याले गाह्रो नगरेको र नियमित औषधि सेवन गरिरहेको अवस्थामा एचआईभी र हेपाटाइटिस ‘बी’ संक्रमितले नियमित काम गर्न सक्ने बताउँछन्। “रगतबाट मात्रै सर्न सक्छ, काम गर्नमा कुनै समस्या हुँदैन, कामबाट निकाल्न पनि मिल्दैन,” डा. सिंह भन्छन्, “औषधि खाएपछि नियमित काममा जान सक्छन्।”
वीरगन्ज महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक अनिशकान्त कुसवाहा रोग लाग्दैमा कामबाट निकाल्न नमिल्ने बताउँछन्। “एचआईभी र हेपाटाइटिसबारे भ्रम छ, मानिसमा डर छ। त्यो डर हटाउनुपर्छ। नत्र रोग लागेको सुन्ने बित्तिकै कामबाट हटाउने लहर चल्छ,” कुसवाहा भन्छन्।