दुई ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध
अविरल वर्षाले दुई ठाउँमा पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
सुर्खेत-जुम्ला सडक अन्तर्गत कालीकोटको एसमोड र हुल्ममा पहिरो खसेको छ। पहिरोले सडक अवरुद्ध हुँदा बुधबार बिहानैदेखि राजमार्ग ठप्प रहेको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जीटीले बताए।
राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन र यात्रु बाटोमै अलपत्र परेका छन्। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जीटीले बताए।
पानी पर्ने बित्तिकै कर्णाली राजमार्ग अन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। यसअघि सोमबार पनि पहिरोले राजमार्ग अवरुद्ध भएको थियो।