पहाडी भेगमा अत्यधिक वर्षाको आकलन
मनसुनी वायुको प्रभावले आज पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतिर रहेकाले पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना छ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा अत्यधिक वर्षा हुने विभागको आकलन छ।
त्यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भने अत्यधिक वर्षा हुने विभागले प्रक्षेपण गरेको छ। अत्यधिक वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम रहेकाले सम्भावित क्षतिबाट बच्न सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।