गम्भीर समस्या पार्ने ‘लाइम डिजिज’ लाई चिन्दैन सरकार
किर्नाको टोकाइबाट लाइम डिजिजको संक्रमण भएर धेरैलाई गम्भीर समस्या पारे पनि सरकारले यस रोगबारे चासो दिएको छैन। गत असारमा ५२ वटा संक्रामक रोग राजपत्रमा प्रकाशन गरिंदा लाइम डिजिज समेटिएन।
गत वर्षको माघमा वनस्पति अनुसन्धान केन्द्र, कैलालीका प्रमुख गंगादत्त भट्ट (५७)लाई अनुसन्धानका लागि जंगल जाँदा किर्नाले टोक्यो। टोकेको ठाउँमा डाबर आयो र गाँठो परे जस्तो भयो। चिलाउने, ज्वरो आउने र आलस्य हुने लक्षण देखिए।
यसअघि पनि उनलाई किर्नाले टोकेको थियो, तर यस पटकको टोकाइले थला पारेपछि यसबारे इन्टरनेटमा खोजी गरे। उनमा देखिएको लक्षण लाइम डिजिजसँग मिल्यो। समयमा उपचार नगरे समस्या बढ्ने थाहा पाए।
पहिले यो रोगको संक्रमण भएका साथीको सल्लाहमा उनले डक्सीसाइक्लिन नामक एन्टिबायोटिक सेवन गर्न थाले र पोलिस्पोरिन क्रिम लगाए। त्यसबाट ढुक्क नभएर उनी काठमाडौंको सिभिल अस्पतालमा पुगे। चिकित्सकले तिनै चलाइरहेका औषधि दुई साता प्रयोग गर्न सल्लाह दिए। औषधि सेवन र केही समय आराम गरेपछि बल्ल उनलाई निको भयो।
२०७८ सालमा वनस्पति विज्ञ भक्तबहादुर रास्कोटीलाई पनि किर्नाले टोकेको थियो। अनुसन्धानका लागि गृहजिल्ला अर्घाखाँचीको जंगलमा जाँदा उनलाई किर्नाले टोकेको थियो। उनले इन्टरनेटमा खोजी गर्दा लक्षणका आधारमा लाइम डिजिज भएको थाहा पाए र चिकित्सकको सल्लाहमा एन्टिबायोटिक खाएपछि निको भयो।
अध्ययनका क्रममा देशका विभिन्न ठाउँमा जाँदा यस रोगको लक्षण भएका मानिस धेरै देखेको रास्कोटी बताउँछन्। उनले चितवन, बाँके, बर्दियातिर यस्तो लक्षण भएका मानिस बढी भेटेका छन्। “कामको सिलसिलामा अन्य ठाउँतिर जाँदा यो समस्याबारे सोध्ने गर्छु, विशेष गरी चुरे क्षेत्रमा धेरै रहेछ यो,” उनी भन्छन्।
अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ स्थित सामुदायिक स्वास्थ्य एकाइका इन्चार्ज माधव घिमिरेका अनुसार उपचारका लागि आउनेमध्ये हरेक वर्ष १५ प्रतिशत लाइम डिजिजका बिरामी हुन्छन्। उनी भन्छन्, “समयमा रोग पहिचान गर्न नसकेर धेरै समस्या हुने बिरामी पनि आउँछन्, तिनलाई बाहिर रिफर गर्छौं।”
त्यस क्षेत्रमा तीन वर्षदेखि लाइम डिजिजको समस्या बढी देखिएको उनी बताउँछन्। विशेष गरी बर्खा याममा खेतमा काम गर्ने र जंगल जानेहरूलाई यसको संक्रमण देखिने गरेको उनको भनाइ छ।
के हो लाइम डिजिज?
इक्सोडिस प्रजातिको किर्नाको टोकाइले बोरिलिया बर्गडफरी नामक ब्याक्टेरियाबाट सर्ने संक्रामक रोग हो, लाइम डिजिज। टोकेको २४ घण्टासम्म शरीरमा किर्ना टाँसिएमा संक्रमण हुने सम्भावना बढ्ने र त्यसपछि पनि किर्ना ननिकाले लाइम डिजिज हुने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
किर्नाले टोकेको ठाउँमा दाग बस्ने, शरीर चिलाउने, ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, आलस्य र थकान हुने, ग्रन्थिहरू सुनिने जस्ता लक्षण देखा पर्छन्। टोकेको ठाउँमा सामान्यतया तीनदेखि ३० दिनभित्र रातो गोलो घेरा देखिन्छ।
समयमा उपचार हुन नसके यो रोग नसर्ने किसिमको दीर्घ रोगमा परिणत हुने डा. पुन बताउँछन्। उनका अनुसार पछि गएर मुटुको चाल अनियमित हुने, हातगोडा झमझमाउने, जोर्नीहरू दुख्ने, अनुहारका मांसपेशी लत्रिने, स्मरणशक्ति हराउने जस्ता समस्या देखिन सक्छन्।
लाइम डिजिज पहिलो पटक सन् १९७५ मा अमेरिकामा पहिचान भएको हो। नेपालमा हालसम्म दुई जनामा यो रोग पुष्टि भएको अभिलेख छ। यो रोग नेपालमा रहेको सन् २०१८ मा पहिलो पटक प्रमाणित भएको थियो। पोखराकी ३२ वर्षीया महिला संक्रमणको लक्षण लिएर टेकु अस्पताल पुगेपछि सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सहितको टोलीले लाइम डिजिज पुष्टि गरेको थियो। यस्तै, भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले सन् २०२० मा जर्नलमा रिपोर्ट प्रकाशन गरी ५० वर्षीया महिलालाई जुलाई २०१८ मा यो रोग लागेको जनाएको थियो।
नेपालमा हालसम्म लाइम डिजिजको परीक्षण र पहिचान गर्ने व्यवस्था छैन। अहिलेसम्म यो रोग देखिएको दुई जनाकै ‘केस’ भारतमा परीक्षणबाट पुष्टि भएका हुन्। नेपालमा परीक्षण नहुँदा थप बिरामीमा यो रोग पुष्टि हुन सकेको छैन।
लाइम डिजिज जाँच्ने रसायन खर्चिलो भएकाले परीक्षण गर्ने व्यवस्था नभएको सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमर बताउँछन्। किर्नाले टोकेको भनेर लाइम डिजिजको लक्षण लिएर बिरामी आउने गरे पनि परीक्षण नगरी यसै भन्न नसकिने उनको भनाइ छ। “किनकि लाइम डिजिजकै लक्षणसँग मेल खाने अन्य संक्रामक रोग पनि हुन्छन्, तर लाइम डिजिज छैन भन्न सकिन्न, परीक्षण गरेमा यसका बिरामी पनि भेटिन्छन्,” उनी भन्छन्, “उपचार पनि अन्य रोगसँग मिल्ने भएकाले उपचार हुन्छ।”
परीक्षण र पहिचानको सुविधा नभएका कारण अहिलेसम्म यो रोगको लक्षण हेरेरै एन्टिबायोटिक दिने गरेको चिकित्सकहरूको भनाइ छ।
सरकारी बेवास्ता
नेपालमा अहिलेसम्म लाइम डिजिजका दुई जना बिरामीको मात्र अभिलेख भए पनि यसबाट पीडित हुनेको संख्या धेरै रहेको सरुवा रोग विशेषज्ञ डा. पुनको आकलन छ। तर यस रोगप्रति सरकारको उपेक्षा कस्तो छ भने, यसलाई खोज्न प्राथमिकतामा नराखिंदा हालसम्म देशभित्र यसको निदान गर्ने व्यवस्था नै छैन। यसका कारण रोग कुन कुन क्षेत्रमा फैलिएको छ, यसबाट प्रभावित जनसंख्या कति छ र यसले कति क्षति पारेको छ भन्ने कुनै तथ्यांक छैन।
यसको परीक्षण नहुँदा बिरामीको संख्या नदेखिएकाले मात्रै यसलाई ठूलो समस्याका रूपमा नहेरिएको डा. पुनको भनाइ छ। “धेरैलाई थाहा नभएको तर नेपालमा धेरै भएको रोग हो भन्ने लाग्छ,” उनी भन्छन्।
लाइम डिजिजको समयमा उपचार नगरे नसर्ने दीर्घ रोगमा परिणत हुने जोखिम हुन्छ। उनका अनुसार यसको पहिचान नै नभई धेरै जनामा दीर्घ रोगमा परिणत भएको हुन सक्छ, त्यो स्थितिमा पहिलेको समस्या के थियो भन्ने कुरै आउँदैन। उनी भन्छन्, “लाइम डिजिजको परीक्षण हुने र समयमै उपचार गर्ने हो भने दीर्घ रोगका बिरामीको संख्या पनि घट्न सक्छ।”
नेपालमा यो रोगको परीक्षण नहुने भएकाले बिरामीले लक्षणमा ध्यान दिनुपर्ने डा. पुन सुझाव दिन्छन्। किर्नाले टोकेको ठाउँमा औंठी जस्तो रातो घेरा आउनु नै यो रोग पहिचान गर्ने माध्यम हो।
समुदायमा लाइम डिजिजको संक्रमण बढे पनि यसलाई संक्रामक रोगको प्राथमिकीकरणमा सरकारले समेटेकै छैन। गत असार २० गते नेपाल सरकारले संक्रामक रोगमध्ये प्राथमिकता दिइएको सूचीमा ५२ वटा रोगलाई राजपत्रमा प्रकाशन गरेको छ, यसमा लाइम डिजिज परेन। सरकारी प्राथमिकतामा नपर्दा यस रोगबारे सरकारको तहबाट कुनै पनि काम भएको छैन।
यो रोग संक्रामक रोगको प्राथमिकतामै नपरेकाले यसको परीक्षण गर्ने व्यवस्था नगरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरे बताउँछन्। “अहिलेसम्म यो रोगको निगरानी गरिएको छैन र समस्या पनि देखिएको छैन। पछि धेरै बिरामी देखिए भने प्राथमिकतामा पर्नेछ,” उनी भन्छन्। प्राथमिकतामा परेपछि यसमा केन्द्रित भएर काम गर्ने उनको भनाइ छ।
अहिलेसम्म कतै पनि लाइम डिजिजको समस्या नदेखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी चिफ मेडिकल ल्याब टेक्नोलोजिस्ट लिली श्रेष्ठ बताउँछिन्। “अहिलेसम्म लाइम डिजिज परीक्षण गर्नुपर्ने भनेर कतैबाट पनि अनुरोध आएको छैन, त्यसैले परीक्षण गरिएको छैन” श्रेष्ठ भन्छिन्। सरकारले प्राथमिकतामा राखेर बिरामीहरू पनि सम्पर्कमा आएमा यो रोगको परीक्षण गरिने उनी बताउँछिन्।
१२६ वटा सरुवा रोगमध्ये ५२ वटा रोग जुनसुकै वेला महामारीका रूपमा फैलिन सक्ने भएकाले तिनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म लाइम डिजिजको समस्या देखिएकोबारे आफूहरू जानकार नभएको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी रविकान्त मिश्र बताउँछन्।
“लाइम डिजिज हालसम्म दुई जनालाई मात्र देखिएको रहेछ, त्यसैले यो अहिले प्राथमिकतामा परेन,” उनी भन्छन्, “धेरै संख्यामा बिरामी देखिएमा सरकारको ध्यान जानेछ र नेपालमै परीक्षण गर्ने व्यवस्था पनि गरिनेछ।”