नेपाली खेलकूदको अर्थ-राजनीति
ओलम्पिकमा पदक ल्याउने सपना देख्नुअघि नेपालले कम्तीमा खेलाडीले श्रमको सीमान्त उत्पादकत्व बराबर पारिश्रमिक पाउने अवस्था निर्माण र मातृशिशु स्वास्थ्यमै असर पुर्याइरहेको घरेलु हिंसाको अन्त्यमा जोड दिनुपर्छ।
फ्रान्समा गत २६ जुलाईदेखि ११ अगस्टसम्म ग्रीष्मकालीन ओलम्पिकको ३३औं संस्करण आयोजना भयो। त्यसमा नेपालबाट पनि ‘हात्तीभन्दा पुच्छर ठूलो’ भने झैं सात खेलाडी र २२ खेलाधिकारी सहभागी थिए। निगमित भूमण्डलीकरणले राष्ट्रिय राज्यलाई कमजोर बनाएको युगमा राष्ट्रगान र राष्ट्रिय झन्डा बोकेर देशप्रेमको अभिव्यक्ति गर्ने सबैभन्दा ठूलो अवसर हो, खेल। यसले सहभागी देशको क्षमताको पनि प्रतिनिधित्व गर्छ। कुन देशले कति पदक जित्यो भन्ने संकेतका आधारमा त्यस देशको हैसियत मापन गरिन्छ, अन्तर्राष्ट्रिय राजनीतिमा। तसर्थ अन्तर्राष्ट्रिय राजनीतिमा खेलको सांकेतिक तर ठूलो भूमिका हुन्छ।
नेपालले सन् १९६४ को टोकियो संस्करणदेखि ओलम्पिकमा सहभागिता जनाउँदै आए पनि अहिलेसम्म कुनै औपचारिक पदक जितेको छैन। पछिल्लो संस्करणमा पनि नेपालका सबै खेलाडी पहिलो चरणबाटै बाहिरिए। नेपालले एशियाली खेलकूद ‘एशियाड’ मा पनि खासै सफलता पाएको छैन। दुई दशकअघि दक्षिणएशियाली खेल (साग)मा राम्रो प्रदर्शन गरेको कराते, तेक्वान्दो, उसु र बक्सिङ आदिमा समेत पछि पर्दै गएको छ।
खेलकूद विकासको संस्थागत प्रयास र ओलम्पिकमा सहभागिताको करीब आधा शताब्दीपछि पनि प्रदर्शन यति कमजोर हुनुको कारण खेलशासन अर्थात् ‘स्पोर्ट गभर्नेन्स’ को अभाव रहेको नेपाली खेल–पण्डितहरूको तर्क छ। खेलमा अति राजनीतीकरण, खेलाडीलाई पञ्चायतकालमा मण्डले अनि बहुदलपछि राजनीतिक दलको लठैतका रूपमा प्रयोग गरिंदा खेल जगत्मा वाञ्छित प्रगति नभएको उनीहरूको विश्लेषण छ। यसमा असहमति जनाउनुपर्ने कारण छैन, किनभने नेपालभन्दा धेरै पछि ओलम्पिकमा सहभागिता जनाएका देशले धेरै राम्रो प्रदर्शन गरिसकेका छन्। खेलमा सबैभन्दा धेरै राजनीति चीन र रूसमा हुन्छ। तर दुवै देश विश्व खेलमञ्चमा अब्बल दर्जाका प्रदर्शक हुन्। भलै यस वर्ष रूस प्रतिस्पर्धामा थिएन। यसर्थ राजनीति नै सम्पूर्ण समस्या हो भनिए यहाँ कमजोरी हुन जान्छ।
कुनै पनि खेलमा खेलाडीको प्रदर्शन भावनात्मक रूपमा देश र राष्ट्रियतासँगै उसको निजत्वसँग पनि जोडिएको हुन्छ। तर खेलमा सफलता भावनात्मक पक्षसँग कम, अर्थशास्त्रसँग बढी सम्बद्ध छ। खेल नितान्त पेशा हो। यसले खेलाडीको निजी जीवनमा तीन ‘स’ अर्थात् सम्पत्ति, शक्ति र साख अभिवृद्धि गर्छ। यी तीन कुरा आर्थिक-सामाजिक असमानताका आयाम हुन् जसमा सामाजिक स्तरीकरण आधारित हुन्छ। यस्तो स्तरीकरणले व्यक्तिको सामाजिक गतिशीलता निर्धारण गर्छ। खेलाडी सफल भए तल्लोबाट उपल्लो तहको सामाजिक हैसियतमा रूपान्तरित हुन्छ।
खेलमा व्यक्तिको सफलता भनेको उसको वर्ग-रूपान्तरण पनि हो। खेलाडीले आफ्नो कौशल मार्फत यी तीन ‘स’ पाउने प्रयत्न गर्छ। यसले व्यक्तिको प्रतिस्पर्धात्मक क्षमता बढाउँछ। प्रतिस्पर्धात्मक क्षमताले उत्पादकत्व बढाउँछ। त्यसैले सामाजिक असमानता व्यक्तिका लागि मिहिनेत र लगनको प्रमुख उत्प्रेरक हो। यसरी यी तीन ‘स’ असमानताका आयाम मात्र नभई मिहिनेत र लगनशीलताका उत्प्रेरक पनि हुन्। खेलाडी सफल भएपछि उसले विज्ञापन र विभिन्न ब्रान्डको समर्थन बापत राम्रो पारिश्रमिक पाउँछ। कतिले नाम र प्रसिद्धिको प्रयोग गरेर उच्च मूल्यको वस्तु तथा सेवा व्यवसाय पनि सञ्चालन गर्छन्। यही कारणले खेलाडीलाई समाजमा ‘सेलिब्रेटी’ र ‘रोलमोडल’ भनिन्छ।
विकसित देशमा खेलाडीले अन्य पेशाकर्मीले भन्दा बढी आर्थिक उपार्जन गर्छन्। त्यसका पछाडि आर्थिक नियमले काम गरेको हुन्छ। खेलाडीको खेलजीवन अरू पेशाको भन्दा तुलनात्मक रूपमा छोटो हुन्छ, क्रिकेटका सचिन तेन्दुलकर वा फूटबलका रोजर मिल्ला जस्ता अपवादलाई छाडेर। एकातिर खेलाडीको पेशागत जीवन छोटो छ, अर्कातिर अरू पेशाकर्मीलाई जस्तो निवृत्तिभरण वा उपदान आदि आर्थिक सुरक्षा हुँदैन। नियमित खेल जीवनबाट सन्न्यास लिएपछि खेलाडी अन्य पेशाकर्मीभन्दा शारीरिक र मानसिक स्वास्थ्यको जोखिममा बढी हुन्छन्। यसै कारण अन्तर्राष्ट्रिय जगत्मा खेलाडीको पारिश्रमिक पनि अन्य पेशाकर्मीको भन्दा बढी हुन्छ। अर्थशास्त्रीहरू खेलाडीको श्रमको सीमान्त उत्पादकत्वको गुणोत्तर दर सामान्य पेशाकर्मीको भन्दा उच्च हुने भएकाले ज्याला पनि बढी हुनुलाई स्वाभाविक मान्छन्। भारतीय क्रिकेटर विराट कोहली र महेन्द्रसिंह धोनीको वार्षिक ५०० करोडभन्दा बढी कमाइको अर्थशास्त्र यही हो। अनि यही खेल अर्थशास्त्र खेलाडीको प्रदर्शनको महत्त्वपूर्ण निर्धारक पनि हो।
नेपालका हकमा भने यो सार्वभौम आर्थिक नियम बाहेक विशिष्ट आर्थिक कारणहरू पनि छन्। पहिलो, नेपालमा धेरैजसो खेलाडी आय वितरणको विंशांश (क्विन्टायल) टेबलको तल्लो ८० प्रतिशत समूहमा पर्छन्। आयका हिसाबले यो गरीब र निम्न मध्यम वर्ग हो। यो वर्गकालाई सानैमा वा नजन्मँदै कुपोषणको समस्या हुन सक्छ। अनि चुर्ना, जुका, नाम्ले लागेको, मलेरिया वा निमोनिया भएको हुन सक्छ। बाल्यकालमा यस्ता स्वास्थ्य समस्याका कारण मानसिक र शारीरिक विकासमा नकारात्मक प्रभाव परेकाहरूले जतिसुकै राम्रो प्रशिक्षण, खानपान, आर्थिक सुविधा पाए पनि तिनको प्रदर्शन अब्बल हुँदैन। विश्व स्वास्थ्य संगठनको सन् २०२० को एक अध्ययन अनुसार नेपालका बालबालिकाको रगतमा लिडको मात्रा अत्यधिक पाइएको छ। यसले दिमागको विकासमा हानि गर्छ र ठूलो भएपछि निर्णय क्षमता कमजोर पार्छ। त्यस्तै, २०१९ को अर्को अध्ययन अनुसार नेपालको ९६ प्रतिशत पिउने पानीमा इकोली ब्याक्टेरिया पाइन्छ। स्वच्छ पानी अभावमा कुशल खेलाडी जन्मन सक्दैन।
यो खेलाडीको दोषले नभएर राज्यले स्वास्थ्यसेवा उपलब्ध गराउन नसकेकाले भएको हो। जबसम्म राज्यले प्रभावकारी रूपमा स्वच्छ पानी, खाद्य सुरक्षा र स्वास्थ्य सेवाको प्रत्याभूति गर्दैन तबसम्म सक्षम खेलकर्मी तयार हुँदैन।
लैंगिक असमानता खेलकूदमा फितलो प्रदर्शनको अर्को महत्त्वपूर्ण कारण हो। नेपालमा सामाजिक संरचना, संस्कार र व्यवहारमा बुहारीको स्तर सबैभन्दा तल्लो मानिन्छ, अझै पनि। खानपान र आहारविहारमा बुहारीलाई धेरै पछि पारिन्छ। दैनिकीमा अन्यले खाइसकेपछि बुहारीको पालो आउँछ। कतिपय घरमा त परिवारका अन्य सदस्यलाई भन्दा बुहारीलाई छुट्टै कमसल खाना पकाउने चलन निम्न-मध्यम र मध्यमवर्गीय मात्र होइन, उच्चवर्गीय परिवारमा पनि छ। यसले गर्दा बुहारीले गर्भावस्थामा पनि पर्याप्त खान पाउँदैनन्। तब बच्चा गर्भावस्थादेखि नै कुपोषणको शिकार बन्छ। बुहारी स्वस्थ नभए भविष्यका खेलाडी स्वस्थ रूपमा जन्मँदैनन् र खेलमा राम्रो प्रदर्शन हुँदैन। खेलस्तर र लैंगिक समानताबीच सहसम्बन्ध हुनेमा लैंगिक खेल अर्थशास्त्री एकमत छन्।
अर्को समस्या घरेलु हिंसा हो। महिलालाई हुने हिंसाका कारण भविष्यमा ओलम्पिकमा स्वर्ण पदक जित्न सक्ने खेलाडी गर्भपतन भई खेर गइरहेको हुन सक्छ। घरेलु हिंसापीडित महिलाबाट जन्मेका बच्चामा पनि शारीरिक र मानसिक समस्या हुन्छन्। यसले गर्दा ती खेलमा मात्र होइन, शिक्षण सिकाइमा पनि पछि पर्ने अध्ययनले देखाएका छन्। राष्ट्रका जुनसुकै क्षेत्रमा कुशल व्यक्ति जन्मन घरेलु हिंसाको अन्त्य आवश्यक छ। यसो हुन नसक्नुमा समाज र राज्य समान रूपमा दोषी छन्।
विकसित देशमा बच्चामा राज्यले ठूलो लगानी गरेको हुन्छ। धेरै अध्ययनले देखाएका छन् कि ५ वर्षभन्दा मुनिको बच्चामा गरिने एक डलरको लगानीले भविष्यमा ५० डलर प्रतिफल दिन्छ। अमेरिकाले ‘बेबी फर्मुला’ बाँड्ने गरेको त्यसै होइन। हामीले ५ वर्षमुनिको बच्चामा खोपका हिसाबले राम्रो प्रगति गरेका छौं। तर यति मात्र पर्याप्त हुँदैन।
उत्कृष्ट नतीजाका लागि खेलसम्बद्ध पूर्वाधार र मानव संसाधनमा गरिने लगानी अर्को महत्त्वपूर्ण पक्ष हो। लगानी पर्याप्त हुँदा नै पनि त्यसको प्रतिफल मशिनले दिने जस्तो बढ्दो दरमा नै हुने निश्चितता मानव संसाधन र खेल पूर्वाधारमा सम्भव नहुने अर्थशास्त्री मान्दछन्। यसर्थ खेल क्षेत्रमा अहिले भएको लगानीको सीमान्त उत्पादकत्व खेलाडीको श्रमको सीमान्त उत्पादकत्व अर्थात् ज्यालाभन्दा निकै निम्न हुन्छ। यसको सामान्य अर्थ- खेलाडीले ‘सेलिब्रेटी’ जीवन धान्ने त कुरै छाडौं, सामान्य जीवनयापनलाई पुग्ने आम्दानी पनि गर्न सक्दैन। उमेर समूहमा राम्रो प्रदर्शन गर्नेहरू २१ वर्षपछि कमजोर प्रदर्शन गर्दै खेलबाटै पलायन हुने कारण यही हो। खेलमा लागेर आफ्नो वर्गीय रूपान्तरण हुँदैन भन्ने महसूस भएपछि खेलाडीले आफ्नो समय र प्रयत्न गलत ठाउँमा लगानी भएको महसूस गर्छ। वित्तीय अनिश्चय र आर्थिक असुरक्षाले दिमागमा घर बनाएका खेलाडीबाट चामत्कारिक नतीजाको आशा गर्न किमार्थ मिल्दैन।
विकसित देशमा खेलाडीले खेल जीवन थाल्नुअघि मानवमिति (एन्थ्रोपोमेट्री) गरिन्छ। यस अन्तर्गत उचाइ, हातखुट्टा, दिमागको साइज (क्रेनियल क्यापासिटी) मापन हुन्छ। खेलाडीमा खराबी शून्य हुनुपर्छ। यसकै आधारमा कुन व्यक्ति कुन खेलका लागि उपयुक्त भन्ने निर्धारण गरी प्रशिक्षण थालिन्छ। अर्कातर्फ कतिपय मानव वंशको आफ्नै वातावरणीय अनुकूलता अनुसारको नश्लीय क्षमता हुन्छ। जस्तो- नेपालका थारू जातिमा मलेरिया रोग हुँदैन। यस कारण थारू जातिका खेलाडी एथलेटिक्स तथा लामो समय स्टामिना चाहिने खेलमा उपयुक्त हुन्छन्। मलेरियाले कलेजो तथा फियोमा असर गर्छ। फियो फुलेर पेटको साइज बढाइदिन्छ। यसकारण मलेरियाको एक पटक शिकार भएको व्यक्तिले खेलमा कहिल्यै राम्रो प्रदर्शन गर्न सक्दैन।
खेल क्षमतामा खानपानको पनि प्रभाव रहन्छ। जमैकनहरू त्यहाँको कन्दमूल सेवनका कारण धावनमा अब्बल भएका हुन्। त्यस्तै, खेलाडीलाई विशेष जडीबुटी पनि दिइन्छ। बेइजिङ ओलम्पिक अगाडि रसियाली र चिनियाँ खेल अधिकारी आफ्ना खेलाडीका लागि यार्सागुम्बा खोज्दै नेपाल आएको चर्चा त्यस वेला चलेको थियो।
नेपालमा खेल क्षेत्रमा लगानी कमजोर हुनुको सबैभन्दा ठूलो पक्ष यहाँको कमजोर आर्थिक विकास र आर्थिक विविधीकरण हो। अहिले हाम्रो वैदेशिक व्यापारमा निकासीको हिस्सा ८.९ प्रतिशत मात्र छ। व्यापार घाटा सन्तुलित बनाउन देशको उत्पादन क्षमता बढाउनुपर्छ। औद्योगिक उत्पादन बढे खेलाडीले राम्रो पारिश्रमिक पाउँछन्। उद्योगले उत्पादनको विज्ञापन र ब्रान्ड समर्थन बापत राम्रो पारिश्रमिक दिन सक्छन्। बढ्दो प्रतिव्यक्ति क्रयशक्ति समता (पीपीपी) र खेलमा पदक जित्ने सम्भावनाबीच कार्यकारणको सम्बन्ध रहने खेल अर्थशास्त्रका अध्ययनले देखाएका छन्।
निष्कर्षमा, जबसम्म खेलाडीको श्रमको सीमान्त उत्पादकत्व बराबर पारिश्रमिक, खेलसम्बद्ध मानव संसाधन र पूर्वाधारमा लगानी, खेलेरै माथि उल्लिखित तीन ‘स’ प्राप्त गरेर आफ्नो वर्ग रूपान्तरण हुने अवस्था निर्माण, घरेलु हिंसाको अन्त्य, लैंगिक समानताका लागि नीतिगत व्यवस्था र कार्यान्वयन हुँदैन, तबसम्म ओलम्पिकका कुनै पनि संस्करणमा राम्रो प्रदर्शनको आशा गर्न सकिंदैन।
(भुर्तेल विकास अर्थशास्त्र र सार्वजनिक वित्त विषयमा प्राध्यापन गर्छन्।)