‘घरज्वाइँ’ : माओवादीको बन्दूकको अगाडि नडगमगाएको विश्वास
घरज्वाइँ चलचित्रले नेपालको आदिवासी सत्वको अन्तरजातीय सम्बन्धलाई थप मजबूत गराउन मद्दत गर्ने नै छ।
दर्शकलाई नयाँ स्वाद पस्किएको अनिल बुढा मगर निर्देशित घरज्वाइँ अझै ठूलो पर्दाबाट उत्रिएको छैन। प्रवासका मुख्य शहरहरूमा पनि यसको आकर्षण बढ्दो देखिन्छ। रुकुमेली मगर जनजीवनमा आधारित यो सिनेमा ती शहरमा निकै भीडका साथ चलिरहेको परिचर्चा सामाजिक सञ्जालमा चलिरहेको छ। सिने समीक्षकहरूका नजरमा पनि चढेको घरज्वाइँभित्र आखिर के त्यस्तो तत्त्व छ, जुन अझै पनि दर्शकको रोजाइमा परिरहेको छ?
मैले पनि मगरको प्रचलित यानीमाया गीतको लय र गीतमा कलाकारलाई हिंडाइएको कथ्य शैली, दृश्य भाषामा भनिएको घरज्वाइँ दोहोर्याएर हेरें। यसबारे प्रकाशित प्रतिक्रिया, समीक्षा पढेर सकाएको छु। यो चलचित्रले निम्त्याएको बहस र विवादलाई पनि नजीकबाट हेरिरहेको छु। आफ्नो समुदायको मुद्दामा सक्रिय अभियानकर्मीका रूपमा दशकौंदेखि डटिरहेको मेरा लागि यो चलचित्रले आफ्नो समुदायबारे भिन्न किसिमले सोच्न बाध्य बनाएको छ।
सांस्कृतिक पुनर्जागरण
रूखो जमीन ढुंगाले छाएको लस्करै घरहरू। मगरहरूको आदिम थलोका रूपमा चित्रण गर्ने तकसेरा, रुकुम। १० वर्षसम्म बन्दूकको राज चलेको क्षेत्र। माओवादीले मगरातका रूपमा व्याख्या गरी ‘जनसरकार’ सञ्चालन गरेको ‘आधारइलाका’। मगरमुक्तिको नाममा हरेकजसो घरबाट मान्छे मारिएको रक्तरञ्जित इतिहासले भिजेको भूगोल र त्यहाँभित्र बसोबास गर्ने आदिवासी मगर समुदाय। हो, अनिलले यही भूगोल र त्यहाँभित्र बसोबास गर्ने समुदायको संस्कृतिलाई आधार बनाई घरज्वाइँको कथा पर्दामा उतारेका छन्।
केही हदसम्म भए पनि बाह्य प्रभावबाट मौलिकता बचाउन सकेको आदिवासी मगर समुदायको सांस्कृतिक धरोहरलाई घरज्वाइँ चलचित्रले साक्षात्कार गराउँछ। उनीहरूको जीवनशैली देखाउँछ। इन्द्रेणी संस्कृति, भिन्न मनोविज्ञान, विविधताभित्रको सुन्दर संसारभित्र छिराउँछ।
१० वर्षे सशस्त्र संघर्षमा रूढि संस्कृतिको आरोप खेपेको मगरले बन्दूकको नालको अगाडि पनि आफ्नो मौलिक संस्कृति छाडेनन्। निर्देशक अनिलले पश्चिमेली मगर जनजीवनलाई शब्दभन्दा बढी दृश्य भाषाले सम्झाउने प्रयत्न गरेका छन्। भन्न खोजेको कुरालाई दर्शकले दृश्य मार्फत राम्ररी बुझ्न सक्ने गरी देखाएका छन्। किनकि क्यानभासमा कोरिएका उनका दृश्य कथा प्रस्ट र परिपक्व देखिन्छन्।
मगर समुदायलाई चिनाउने यसअघि बनेका चलचित्रभन्दा घरज्वाइँ पृथक् छ। फिचर फिल्मको रूपमा गण्डक क्षेत्रका मगरको ऐतिहासिक विषयवस्तुमाथि बनेको किशोर राना निर्देशित सीमारेखा (सन् १९९७)ले निकै चर्चा बटुले झैं धेरैपछि पश्चिमेली मगरमाथि बनेको फिचर फिल्म घरज्वाइँले दर्शकको मन जित्न सकेको छ।
त्यस भेगका आदिवासी मगरले सम्पादन गर्ने संस्कार र विश्वास गर्ने सांस्कृतिक पक्ष समेटिएकाले होला, दर्शकलाई घरज्वाइँले तानेको देखिन्छ। मातृसत्तात्मक पारिवारिक संरचना रहेको मगरका ‘अर्गानिक’ कथा यसको सबैभन्दा बलियो पक्ष मान्नुपर्ने हुन्छ।
यो चलचित्रमा मगर समाजमा महिलाको भूमिका नेतृत्वदायी हुन्छ भन्ने देखाइएको छ। नायिका बन्दूक पड्काउँछिन् र आफैं प्रेम प्रस्ताव अगाडि बढाउँछिन्, चित्त नबुझे तँ तँ र म म गर्दै लोग्नेलाई घर बाहिर धपाउँछिन्। अन्याय विरुद्ध कुनै सम्झौता गर्दिनन्।
हुन पनि मगर समुदायमा महिलाको बोली कतिपय सन्दर्भमा पुरुषको भन्दा अग्रणी र प्रखर सुनिन्छ। छोरीलाई मेलापात जान, रोदी बस्न, हाँसखेल गर्न स्वतन्त्रता हुन्छ। मन पराएको युवासँग जोडी बाँधिजान थुनछेक गरिंदैन। उनीहरूलाई आत्मनिर्णयको पूर्ण अधिकार छ। तर त्यस्तो प्रचलनभित्र पनि सामूहिकता र नैतिक बन्धन कोरिएको हुन्छ।
चलचित्रमा महिला-पुरुष सम्बन्ध देखाउने एउटा दृश्य छ। भिन्न भिन्न गाउँबाट भेला भएका तरुनी-तन्नेरीहरू रातभर रोदी बसेर लहरै सुतेको देखाइएको छ। केही व्यक्तिले यसलाई अश्लीलतासँग जोडेर दुष्प्रचार गर्न खोजे। तर तिनले बुझेनन्– यो त त्यो समाजमा महिला र पुरुषबीच रहेको विश्वासको पराकाष्ठा हो।
तपाईंमाथि अगाध विश्वास भएकै कारण आफ्नो स्त्रीत्व सुरक्षित रहन्छ भन्ने ठानेरै महिला त्यसरी विपरीत लिंगीसँग लहरै सुत्न सक्छन। यो मगर समाजमा महिलालाई हेर्ने दृष्टिकोण हो। त्यसलाई तपाईंले कसरी हेर्नुहुन्छ? त्यो तपाईंले सँगालेको चिन्तन हो। तर यो समुदायले केटाकेटी सँगै सुत्दैमा रतिक्रिया हुन्छ भन्ने फ्रायडवादी सिद्धान्तबाट सम्बन्धलाई नापजोख गर्दैन, यो चाहिं त्यो समुदायको विरासतबाट प्राप्त विश्वास र शिक्षा हो।
कथाको मियो
आदिवासी समुदायमा झैं मगरमा पनि मामाकी छोरी तानेर विवाह गर्ने प्रचलन थियो। अहिले त्यो हटिसके पनि चलचित्रमा चाहिं त्यसलाई महत्त्वका साथ देखाइएको छ। मलाई लाग्छ, निर्देशकले हराइसकेको यो प्रथालाई त्यति ‘ग्लोरिफाई’ नगरे पनि हुने थियो। तर कथाको मेरुदण्ड नै यही राखिएको छ। केटीका बुबा राजी नभएपछि छोपुवा हानेर बिहे गर्छ, नायक।
‘बुबाको खुशी बेगर तपाईंको घर जान सक्दिनँ, केही दिन काम गरेर बुबालाई खुशी बनाउन सक्नुभयो भने म आफैं तपाईंको घर जान्छु।’
मगर समुदायमा अभिभावकको रजाबन्दी विना गरिएको यस्तो बिहेलाई तत्काल मान्यता दिइँदैन। केटी पनि तयार नहुन सक्छिन्। घरज्वाइँमा नायिकाले बोल्ने माथिको संवादले पनि मगर समुदायमा महिलालाई आत्मनिर्णयको अधिकार अर्थात् स्वतन्त्रता प्रचुर छ भन्ने देखिन्छ। उनले आफ्नो निर्णय आफैं गर्न सक्छिन्।
छोपुवा बिहे गरे पनि केटाले कडा परीक्षा दिएर केटी र उनको माइतीलाई निश्चित समयभित्र आफ्नो कौशल र क्षमताले रिझाउनुपर्ने हुन्छ। त्यसका निम्ति केटीको घरमा गई जस्तोसुकै काम गर्न पनि केटो तयार हुनुपर्ने हुन्छ। यसैलाई चलचित्रमा घरज्वाइँ भनिएको छ।
खासमा यो प्रचलन नेपाली समाजले बुझ्ने घरज्वाइँभन्दा तात्त्विक रूपमै भिन्न छ। नेपाली समाजमा मृत्युपर्यन्त ससुराली बसेकालाई घरज्वाइँ भनिन्छ। घरज्वाइँलाई यदि स्थानीय भाषामा पुकारिने नाम राखिदिएको भए त्यो अझ प्रस्ट र प्रभावकारी हुन सक्थ्यो भन्ने मलाई लागेको थियो। चलचित्र हेर्दा अठार मगर खाम भाषामा यसलाई के भनिंदो होला भनी जिज्ञासा जागेर मैले निर्देशक अनिल र केही पाकाहरूसँग सोधेको थिएँ, तर तिनले पनि घरज्वाइँको स्थानीय भाषामा चित्तबुझ्दो रूपान्तरण गर्न सकेनन्।
मगर समुदायमा अभिभावकको रजाबन्दी विना छोपुवा विवाह गरेको भान्जाले छाङ्रा (दण्डस्वरूप तिरिने रकम) तिर्ने चलन छ। तीन दशकअघिसम्म छाङ्रास्वरूप नगद रु. पाँच हजार, सुँगुरको मासु २० धार्नी वा सिंगो राँगा, २० मुरी चामल, २० बोत्तल रक्सी, दुई घ्याम्पो जाँड बुझाइन्थ्यो।
मन नपरेको भान्जालाई त चलनचल्तीभन्दा दोब्बर दण्ड तिराउने गरिन्थ्यो। यो प्रचलनलाई तनहुँतिर वाकछुरु, पाहुरपात उदयपुरमा छाङ्रा नै भनिन्छ। मैले यही चलनमा मगर भाषाको पहिलो उपन्यास रेवस (चलन) लेखेको थिएँ। त्यसका आधारमा लंघन चलचित्र पनि बनाएको छु। घरज्वाइँ बस्ने र छाङ्रा दण्ड तिर्ने चलन अहिले पनि त्यस भेगमा कायमै छ।
तेस्रो ठूलो जनसंख्या ओगटेको मगर देशका कुनाकाप्चामा छरिएका छन्। तिनका भाषा, संस्कार र संस्कृति पनि त्यत्तिकै विविधतापूर्ण छन। हिजो राज्यको कुदृष्टिका कारण ओझेल परेको यो समुदाय र विस्मृतिमा पुग्न गएको यो समुदायको कथा माओवादीको दश वर्षे सशस्त्र संघर्षले झन् बढी पेलानमा पुग्यो।
क्रान्तिकारिताका नाममा माओवादीले जसरी पश्चिमेली मगरका भाषा, संस्कृति र मान्यतामाथि धावा बोल्यो त्यसले यो समुदायका अर्गानिक कथा ओझेल परे। माओवादीका निम्ति बन्दूक बोकिदिने यो समुदायले क्रान्तिका नाममा आफ्नै प्रथाजनित कानूनमाथि बन्दूक चलायो। पुस्तौंदेखि चल्दै आएको विश्वास मिसिएका गीतमा पार्टी लाइनका ‘प्रगतिशील’ शब्द छिराइए।
तर घरज्वाइँले माओवादीले त्यस वेला गरेको यस्तो बदमासीबारे मुखर रूपमा बोल्न सकेको छैन। केही मात्रामा देखाउन खोजिएको छ, तर ती माओवादीकै पक्षपोषणका निम्ति लेखिएका जस्ता देखिन्छन्। चलचित्रमा बन्दूक र मगरको सम्बन्ध देखाइएको छ। प्राचीनतम सांस्कृतिक महत्त्वसँग बन्दूक जोडिएको छ। चलचित्र हेरेपछि मेरो मनमा जागेको खुल्दुली– के द्वन्द्वकालमा माओवादीले लगेका मगरका सबै बन्दूक फिर्ता गर्यो?
इतिहासमा राज्यले मगरलाई काला शेष (रिडीपारिका मगर) र गोरा शेष (रिडीवारिका मगर) भनेर होच्याउँदै ‘काला शेष, गोरा शेष, मान्छे खाने देश’ भन्ने भाष्य निर्माण गरेको थियो। काला शेष मगरलाई आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक संयन्त्र, विकासदेखि पूर्ण विच्छेद गरेर विभेद गरिएको थियो।
प्रजातन्त्रको आगमनपछि कामरेडहरूको बन्दूक पनि थपियो। त्यसभन्दा अगाडि अध्ययन-अनुसन्धानका नाममा यस भेगमा छिरेका पश्चिमाहरूले मौलिक संस्कृति बिटुलेर प्रभु येशुको मार्गमा समाजलाई ध्रुवीकरण गरेपछि बिटुलिएको प्रथाजनित कानून वर्णसंकर हुन गएको थियो।
अर्काे, हिन्दूकरणको मारले थिचियो समाजको सांस्कृतिक मान्यता। जस्तै- मगरमा मामाकी छोरीलाई साली मानिन्छ। बिहेबारी चल्छ, तर पछिल्लो समय केही स्थानमा हिन्दूकरणका कारण मामाको छोरीको खुट्टा ढोग्न थालिएको छ। साइनो सालीबाट बहिनी हुन गएको छ। भाइटीका लगाउने प्रचलन बढ्दो छ। विवाह गरेमा पाप बोक्ने भाष्य बनाइएको छ।
यस्ता भाष्यलाई बुद्धिजीवी, राजनीतिज्ञ, विकासे संस्थाले बढावा दिएकोे देखिन्छ। जातीय संस्था, तिनका अगुवा र सामाजिक अभियन्ता कुहिरोको काग झैं रुमल्लिएको देखिन्छ। घरज्वाइँ चलचित्रले कम्तीमा यसमा एकसरो भए पनि चिन्तन गर्न बाध्य पारेको छ।
सांस्कृतिक बहस
चलचित्रमा मृतक र रूखको सम्बन्ध देखाइएको छ। मगरको मृत्यु जहाँ भए पनि मृतकको चिनो जन्मस्थलमा ल्याएर गाडिन्छ, जसलाई बिसौना (बिसौनी) भनिन्छ। त्यहाँ मृतकको नाममा एउटा रूख रोपिन्छ। पाल्पातिरका मगरले रूख काट्नु अगाडि पहिला क्षमापूजा गर्छन् र काटिएको ठाउँमा नयाँ बिरुवा रोपिन्छ। विभिन्न समुदायमा अभ्यास गरिने यस्ता मान्यता नेपाली समाजको ज्ञानको भण्डार हो।
अरूण गुप्तो पुस्तक ‘संस्कृति चिन्तन’ मा लेख्छन्- ‘संस्कृति हिजो घोडामा चढेर आउँथ्यो अहिले द्रुत गतिमा मोबाइलमा आउँछ।’ भूमण्डलीकरण, प्रविधि विकासले विविध संस्कृति बुझ्न सजिलो भएको छ र अपनत्व लिन थालिएको छ। नेपालमा एकात्मक सत्ताको दबदबाले मौलिक संस्कृतिलाई वनमारा झारसँग तुलना गरिन्थ्यो। बुझाइको कमजोरीले अरूको भन्दा मेरो संस्कृति राम्रो, ज्ञाता हुँ भन्ने मनोभावको प्रतिस्पर्धा मौलाएको पनि छ।
त्यही अल्प बुझाइलाई फराकिलो बनाउन हामीले इन्डिजिनियस फिल्म अर्काइभ (आइफा) मार्फत केही वर्षसम्म अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव पनि आयोजना गरेका थियौं। पूर्वका राजवंशी, धिमाल, राई, लिम्बू जातिको संस्कृति, पश्चिमका मगर, गुरुङ, थारू, चेपाङ, राउटे जातिको संस्कृति आदानप्रदान गर्न/गराउन चलचित्रको माध्यमबाट नारायणी नदी वारपार गराइएको थियो। जाति/पहिचान भनेर मात्र नहुँदो रहेछ, एकअर्कालाई सम्बन्धित समुदायका भाषा, संस्कृति, इतिहास, सम्पदा, ज्ञान पनि बुझाउनुपर्दो रहेछ भन्ने सिकिएको/सिकाइएको थियो।
यूरोपको सामी, क्यानडाको इन्युइत, अस्ट्रेलियाको एबोरजिन, न्यूजिल्यान्डको माओरी, अमेरिकाको रेड इन्डियन, अफ्रिकन आदिवासी र ब्राजिलको अमेजन क्षेत्रमा बस्ने आदिवासीको जीवनदर्शन, संस्कृति, भूगोल र उनीहरूको मुद्दामा बनेको चलचित्र हेरेपछि मेरो ज्ञानको दायरा बढेको थियो।
भूगोल, विधि फरक भए पनि तिनले र हामीले भोगिरहेको पीडा एउटै रहेछ भन्ने ज्ञानको तत्त्वबोध गराएको थियो। त्यो दृष्टिकोणबाट हेर्दा घरज्वाइँ चलचित्रले नेपालको आदिवासी सत्वको अन्तरजातीय सम्बन्धलाई थप मजबूत गराउन मद्दत गर्ने नै छ।
(लेखक मातृभाषी फिल्मकर्मी हुन्।)
याे पनि:
गाउँ आएको बाटो : नोस्टाल्जिक मन र मस्तिष्क
पितृसत्तासँग जुध्न सिकाउने ‘लापता लेडिज’
घरज्वाइँ : संस्कृतिसँग अधीनस्थ राजनीति
‘महाजात्रा’ को बरालिएको यात्रा
नसुनिएकाहरूको स्वर सुनाउने जमर्को
झिगुलीको क्रान्तिकारी ‘रक एन्ड रोल’
मन दुखाउने मनसरा
हँसाई हँसाई ढोंग उजागर गर्ने ‘टिकट टु हलिउड’
‘द रेड सुटकेस’ : कतारमा अस्ताएका २१ सय नेपालीको कथा
हिरानी हराएको ‘डंकी’
दिमाग खराब : चलचित्र कि चुनावी अभियानको भिडिओ?
ओपनहाइमर: परमाणु बमका पिताको पश्चात्ताप
उत्कृष्ट बन्न चुकेको ‘जारी’
के पुरुषलाई कोठीभित्र हुलेर बलात्कार घट्छ?
नीरफूल: मौलिक कथा, कमजोर प्रस्तुति