मनसुन भित्रिएयता बाढीपहिरोबाट १९० जनाको मृत्यु
मनसुन भित्रिएयता बाढीपहिरो लगायत प्राकृतिक विपत्मा परेर १९० जनाले ज्यान गुमाएका छन्।
पछिल्लो २४ घन्टामा मात्रै आठ जनाले ज्यान गुमाएका छन्। पहिरोमा परेर बझाङमा पाँच र जाजरकोटमा तीन जनाको मृत्यु भएको छ।
गत जेठ २८ मा मनसुन भित्रिएको थियो। त्यसयता देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायत विपत्मा १९० जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ।
प्रहरीको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेशमा आठ, बागमतीमा ३२, गण्डकीमा ५६, लुम्बिनीमा ३६, कर्णालीमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ।
त्यस्तै, बाढीपहिरो लगायत विपत्मा परेर २३८ जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा ११, कोशीमा ३८, मधेशमा १२, बागमतीमा २३, गण्डकीमा ४५, लुम्बिनीमा १८, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ जना घाइते भएको प्रहरीले जनाएको छ। विपत्मा परेका ११४ जनाको उद्धार गरिएको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताए।
बाढीपहिरोमा परी ४९ जना हराइरहेका छन्। कोशीमा दुई, मधेशमा एक, बागमतीमा ४१, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा एक जना हराइरहेको प्रहरीले जनाएको छ।
बाढीका कारण ३८४ घर डुबानमा परेका छन्। त्यस्तै, ३२७ घर, ११२ गोठ, ५१ पुल, चार विद्यालय र दुई सरकारी कार्यालयमा क्षति भएको प्रहरीको तथ्यांक छ। यस अवधिमा चार हजार ८१९ परिवार विस्थापित बनेका छन्।