नेपाली भान्सामा विदेशी ‘क्वाँटी’, वर्ष दिनमा १५ अर्बको आयात
नेपालीको भान्सामा तयार हुने क्वाँटीमा मिसाइने गेडागुडी छिमेकी भारतसँगै अमेरिकी तथा अफ्रिकी लगायत मुलुकबाट आउने गरेका छन्।
जनैपूर्णिमा भन्ने बित्तिकै क्वाँटीको नाम आइहाल्छ। टुसा उम्रिएका मास, चना, बोडी, केराउ, भटमास, मस्याङ, मुगी, सिमी सहितका नौ प्रकारका गेडागुडी मिसाएर पकाइने क्वाँटी जनैपूर्णिमाको विशेषता नै हो।
नेपाली भान्सामा पाक्ने क्वाँटीमा मिसिएका धेरैजसो गेडागुडी भने नेपालमा फल्दैनन्, विदेशबाट आइपुग्छन्। नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै १५ अर्ब दुई करोड रुपैयाँ बराबरको गेडागुडी र दाल विदेशबाट आयात गरेको छ। छिमेकी मुलुक भारतदेखि सात समुद्रपारिका मुलुकबाट नेपालले चना, केराउ, बोडी सहितका गेडागुडी मगाउँछ।
भन्सार विभागका अनुसार गत वर्ष नेपालले अस्ट्रेलियाबाट सात अर्ब ६६ करोड रुपैयाँको गेडागुडी र दाल मगाएको छ। यसमध्ये साढे तीन अर्बको चना हो भने बाँकी रातो दाल।
त्यसैगरी, बितेको वर्ष नेपालले भारतबाट तीन अर्ब १३ करोडको, म्यानमारबाट एक अर्ब ९२ करोडको र अफ्रिकी मुलुक तान्जानियाबाट ९८ करोड रुपैयाँको गेडागुडी मगाएको छ।
नेपालले उत्तर अमेरिकी मुलुक क्यानडादेखि अफ्रिकी मुलुक इथियोपियाबाट गेडागुडी आयात गर्छ। गत वर्ष क्यानडाबाट ३२ करोड ११ लाखको र इथियोपियाबाट २७ करोड ७५ लाख रुपैयाँको गेडागुडी आयात गरेको छ।
गत वर्ष नेपालले पाँच अर्ब १० करोडको रातो दाल, चार अर्ब पाँच करोडको चना तथा तीन अर्ब ४२ करोड रुपैयाँको मुगी र रहर आयात गरेको छ। त्यस्तै, एक अर्ब २६ करोड रुपैयाँको बोडी र ४८ करोड रुपैयाँको राजमा पनि आयात भएको छ।
नेपालमा दलहन बाली उत्पादनको सम्भावना भए पनि उत्पादन र उत्पादकत्व दुवै सन्तोषजनक छैन। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक चार लाख आठ हजार मेट्रिक टन हाराहारीमा दलहन बालीको उत्पादन हुन्छ। यसमध्ये झन्डै ६२ प्रतिशत उत्पादन दालको छ।
उन्नत प्रविधि, सिंचाइको अभाव तथा व्यावसायिक कृषि उत्पादनको अभ्यास नहुँदा दलहन बालीको उत्पादन मागको तुलनामा थोरै छ। जसले गर्दा नेपालले विदेशबाट गेडागुडी तथा दाल आयात गर्छ।
गत वर्ष विदेशबाट एक लाख ४८ हजार टन दलहन बाली (दाल र गेडागुडी) आयात गरिएको थियो। यो देशभित्रको उत्पादनका तुलनामा करीब ३६ प्रतिशत हो।