भोलि विश्वासको मत लिंदै मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिंदै छन्।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने भएपछि मंगलबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जनाएका छन्।
सत्तारूढ दलले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन्। साउन ७ गते नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले)का नेता आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए। दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
अहिले प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्। ८७ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र कांग्रेसको बहुमत पुग्ने भए पनि साना दलले पनि विश्वासको मत दिने भएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा), जसपा, नेपाल र नागरिक उन्मुक्ति पार्टी सरकारको पक्षमा उभिएका छन्। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र राप्रपा भने विपक्षमा छन्। माओवादीका ११ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक/एक सांसद छन्।