नेपालमा पनि मंकीपक्सको जोखिम, सतर्कता अपनाउन आग्रह
नेपालमा पनि मंकीपक्स संक्रमणको जोखिम रहेको जनाउँदै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
मंकीपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रुत रूपमा फैलिइरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। “नेपालमा अघिल्लो वर्ष एक जना विदेशीमा मंकीपक्स संक्रमण देखिएकाले पनि नेपाल मंकीपक्स संक्रमणको जोखिममा नरहेको भन्न सकिंदैन,” डा. बुढाथोकीले भने।
मंकीपक्सको पूर्व तयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको उनको भनाइ छ। हवाई तथा सीमानाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ।
केही दिनयता अफ्रिकी मुलुक कंगोमा मंकीपक्स भाइरसको घातक प्रजाति ‘क्लेड १ बी’ फैलिइरहेको छ। मन्त्रालयका अनुसार जनवरीयता मात्र भाइरसका कारण ५४८ जनाको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले पनि मंकीपक्स संक्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपत्काल घोषणा गरेको छ।
पूर्व तयारी गरिएको भए पनि जनस्तरबाटै सतर्कता अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।
कसरी सर्छ मंकीपक्स?
मंकीपक्स संक्रमित भएको व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा मंकीपक्स सर्ने गर्छ। त्यस्तै, संक्रमित मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, र्यालको सम्पर्कबाट, संक्रमित बाँदर, मुसा, लोखर्के लगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि सर्ने गरेको छ।
संक्रमण भएको कसरी थाहा पाउने?
मंकीपक्स संक्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखा पर्छन्।
त्यस्तै, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थिहरू बढ्ने गर्छन्। आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ। -रासस