हिमाली बौद्ध शिक्षालाई विदेशका विश्वविद्यालयले मान्यता दिने गरेको भए पनि नेपालमा बेवास्ता गरिएको सरोकारवालाले गुनासो गरेका छन्।
नेपाल समाज मिडिया प्रालिले आयोजना गरेको ‘नेपालको हिमाली बौद्ध शिक्षा : सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा सहभागीले यस्तो गुनासो गरेका हुन्। नेपालमा बुद्ध जन्मिएको भनेर गर्व गरे पनि बौद्ध शिक्षा, बौद्ध अभ्याससँग सम्बद्ध संस्कृति तथा तीर्थस्थलको पहिचान, संरक्षण र प्रवर्द्धनमा राज्यले वास्ता नगरेको उनीहरूको भनाइ थियो।
राज्यले बौद्ध शिक्षालाई विदेशी मुद्रा आर्जनको माध्यम बनाउन नसकेको नागार्जुन इन्स्टिच्यूट अफ बुद्धिस्ट स्टडीजका निर्देशक मिलन शाक्यले बताए। त्यस्तै, लुम्बिनी कलेज अफ बुद्धिज्म एन्ड हिमालयन स्टडीजका संयोजक मोहनकुमार तामाङले बौद्ध तीर्थस्थलबारे धेरैलाई थाहा नभएको बताए। “नेपालमण्डलसँगै देशैभरि बुद्ध र हिमाली बौद्ध धर्मसँग सम्बन्धित तीर्थस्थल छन्। तिनको महत्त्व नबुझ्दा संरक्षण तथा प्रवर्द्धन गरी लाभ लिन सकिएको छैन,” तामाङले भने।
नेपाल बौद्ध महासंघका निवर्तमान अध्यक्ष आचार्य नोर्बु शेर्पाले बौद्ध शिक्षाको गहनतामा ह्रास आइरहेको बताए। बौद्ध शिक्षामा गोन्पाले पुर्याएको योगदानलाई राज्यले मनन गर्न नसकेको शेर्पाको भनाइ थियो।
अहिले सहयोग जुटाएर गुम्बामा निःशुल्क आवासीय शिक्षाको प्रबन्ध गरिएको भए पनि यसमा आधुनिक शिक्षा लागू गर्दा आवश्यक पर्ने गणित, विज्ञान लगायत विषय शिक्षकको तलबभत्ता व्यवस्था गर्न समस्या भएको नेपाल बौद्ध महासंघका उपाध्यक्ष गेसे थुप्तेन जिन्पाले बताए। यसमा राज्यले सघाउनुपर्ने उनको भनाइ थियो।
नेपाल बौद्ध महासंघका अध्यक्ष खेन्पो ग्युर्मे छुल्टेमले बौद्ध शिक्षामा आधारित दर्शन, इतिहास, उपचार पद्धति लगायत १० विधामा अध्यापन हुँदै आए पनि राज्यले औपचारिक शिक्षाको मान्यता नदिंदा कठिनाइ भएको बताए। आधुनिक शिक्षाको प्रवेशले गोन्पा शिक्षालाई पनि प्रभावित पार्ला कि भन्ने डर लागेको उनको भनाइ थियो।
बौद्ध शिक्षालाई नेपालका विश्वविद्यालयले मान्यता नदिंदा समस्या भइरहेको जिन्पाले बताए। लुम्बिनी बौद्ध विश्वविद्यालयबाट स्नातक गरेका विद्यार्थीलाई अमेरिकाको स्ट्यान्फोर्ड लगायत अन्तर्राष्ट्रिय विश्वविद्यालयले सजिलै मान्यता दिएको भए पनि नेपालमा त्यस्तो हुन नसकेको उनको गुनासो थियो। “नेपालका विश्वविद्यालयले प्रवेश परीक्षा नै नलिई तपाईंहरू सक्नुहुन्न भन्ने जवाफ दिएर विद्यार्थीलाई फर्काउँछन्,” उनले भने।
कार्यक्रममा बौद्ध अध्ययन र अभ्यासमा संलग्न विद्वान्, बौद्ध शिक्षा अध्यापन हुने कलेज तथा विश्वविद्यालयका प्रतिनिधि एवं हिमाली बौद्धसँग सम्बद्ध विभिन्न क्षेत्रका व्यक्ति सहभागी थिए।