जाजरकोटमा पहिरोमा पुरिएर बालक सहित तीन जनाको मृत्यु
भूकम्पले घर भत्किएपछि टहरामा बसिरहेका जाजरकोटको एकै परिवारका तीन जनाको पहिरोमा पुरिएर ज्यान गएको छ।
आज बिहान नलगाड नगरपालिका-२, माझगाउँका ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनीषा परियार र २ वर्षीय शिवम् परियार पहिरोमा पुरिएका थिए। स्थानीय बासिन्दाले पहिरो पन्छाउँदा तीनै जना मृत भेटिएको नलगाडका मेयर डम्बर रावतले बताए।
गत वर्ष आएको भूकम्पमा उनीहरूको घर भत्किएको थियो। अहिलेसम्म नयाँ घर बनाउन नसकेकाले उनीहरू अस्थायी टहरोमा बस्दै आएका थिए।
बिहानै आएको पहिरोले टहरो पनि पुरिएको हो। उनीहरू सुतेकै अवस्थामा पहिरोमा पुरिएको मेयर रावतले बताए।