पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु
गए राति बझाङमा आएको पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।
अविरल वर्षासँगै बझाङको बुंगल नगरपालिका-१० स्थित टुमेडा गाउँमा गए राति १ बजेतिर पहिरो आएको थियो। पहिरोमा पुरिएर काली धामी, गोल्की धामी, आकृति धामी र लक्ष्मी धामीको मृत्यु भएको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन्।
राति सुतेको वेला पहिरोले घर पुरिएको जोशीले जानकारी दिइन्। उनका अनुसार घरसँगै १० जना पुरिएका थिए। उनीहरूमध्ये ६ जनाको स्थानीय बासिन्दाले उद्धार गरेका थिए।
वीरबहादुर धामी, उज्ज्वल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको जोशीले बताइन्। पहिरोमा हराएका चार जना आज बिहान मृत भेटिएका हुन्।
स्थानीय बासिन्दासँगै प्रहरी टोली घटनास्थलमा खटिएको थियो। पहिरो पन्छाउने क्रममा उनीहरूको शव भेटिएको जोशीले बताइन्।