विस्फोटको जोखिममा ४७ हिमताल
चार वर्षअघि गरिएको एउटा अध्ययनले हिमालय क्षेत्रका ४७ वटा हिमताल विस्फोटको जोखिममा रहेको देखाएको छ।
साउन मसान्तका दिन हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित पर्यटकीय गाउँ थामेका बासिन्दाले अप्रत्याशित र असाधारण विपत्ति बेहोरे। गेग्रान र लेदो माटो मिसिएको भेलबाढीले सिंगो गाउँलाई भताभुंग बनायो। बाढीबाट मान्छेको ज्यान नगए पनि कम्तीमा सात घर सहित पाँच होटल, विद्यालयको छात्रावास लगायत भौतिक संरचनालाई बगायो। गाउँभरि हिलो माटो र गेग्रान थुप्रिएको छ।
विपत्तिपछि सरकारी अधिकारीले गरेको हेलिकोप्टर भ्रमणले उपल्लो क्षेत्रका दुई वटा हिमताल फुटेर बाढी आएको देखिएको छ। एउटा हिमताल फुटेर तल्लो स्थानको अर्को तालमा खसेको र त्यो पानी सोहोरिएर एकै पटक प्रवाह हुँदा थामेमा विपत्ति निम्तिएको हो। तालको पानी एकै पटक निस्किएपछि हिउँ, ढुंगा र माटो मिसिएको लेदो बेगवान गतिमा हुत्तिंदै सिंगो गाउँलाई डुबाउने तहमा फैलिएको थियो।
यो बाढीले तीन वर्षअघि सिन्धुपाल्चोकको मेलम्ची र गत वर्ष मुस्ताङको कागबेनीमा आएको बाढीको सम्झना गराएको छ। सँगसँगै हिमाली क्षेत्रमा भइरहेको भू-हलचलको जोखिमलाई पनि संकेत गरेको छ।
चार वर्षअघि सार्वजनिक एउटा अध्ययन प्रतिवेदनले नेपाल, तिब्बत र भारतको हिमाली भेगमा ४७ वटा हिमताल फुट्न सक्ने जोखिममा रहेको देखाएको थियो। यसमध्ये नेपालमा मात्रै २१ वटा जोखिमयुक्त हिमताल छन्।
मुगु र मर्स्याङ्दी नदी जलाधार क्षेत्रमा एक-एक बाहेक अरू जोखिमयुक्त हिमताल दूधकोशी, अरुण र तमोर नदी जलाधार क्षेत्रमा छन्। हिमाली क्षेत्रको जलवायुमा काम गर्ने संस्था अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को प्रतिवेदनमा ती हिमताल फुट्ने जोखिम रहेकाले नियमित अनुगमन गर्न सुझाइएको थियो।
प्रतिवेदनले च्छो रोल्पा हिमताल र इम्जा हिमताललाई सबैभन्दा बढी जोखिमयुक्त तालका रूपमा देखाएको थियो। यस अध्ययनयता हिमताल सम्बन्धी यो स्तरको अध्ययन भएको छैन। उक्त प्रतिवेदनका लेखकमध्येका एक हिमताल विज्ञ समज्वल बज्राचार्य थामे गाउँमा आएको विपत्तिले हिमाली क्षेत्रमा प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई अझ प्रस्ट बनाएको बताउँछन्। बज्राचार्य भन्छन्, “जलवायु परिवर्तनले त्यस्तो जोखिमलाई बढाउँदै लगेको छ। हिमताल विस्फोटका घटनाहरू लगातार हुन थाल्नु निकै चिन्ताजनक कुरा हो।”
साउन ३२ मा फुटेका हिमतालहरू भने जोखिम सूचीमा रहेका हिमताल होइनन्। हिमताल विज्ञ बज्राचार्य हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तीव्र गतिमा भइरहेको तथा हिमतालको आकार पनि तीव्र गतिमा बढिरहेकाले जोखिमयुक्त हिमतालको संख्या पनि बढिरहेको हुन सक्ने बताउँछन्। हिमतालको आकार विस्तार हुँदै जाँदा पानीको चापका कारण वा भूकम्प र हिमपहिरो पर्दा फुट्ने खतरा हुन्छ।
विस्फोटको जोखिममा रहेका हिमताल
इसिमोडको अध्ययनले कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा तीन हजार ६२४ वटा हिमताल भेटिएको उल्लेख गरेको थियो। तीमध्ये दुईतिहाइभन्दा धेरै कोशी नदी जलाधार क्षेत्रमा थिए। हिमतालमध्ये दुई हजार ७० वटा नेपालमा, एक हजार ५०९ वटा तिब्बतमा र ४५ वटा भारत भेटिएका थिए।
विज्ञहरू जलवायु परिवर्तनका कारण हिमालय तीव्र गतिमा पग्लिइरहेकाले विगतका जलाधार क्षेत्रमा हिमनदी भएका नदीहरूमा लगातार बाढी आउने गरेको बताउँछन्। गत असार २२ राति दोलखाको रोल्वालिङ खोलामा आएको बाढीले रोल्वालिङ पदमार्गमा पर्ने डोगाङका आठ होटल र घर बगाएको थियो। एक जना हराएका थिए।
यो बाढी पनि हिमताल फुटेर आएको हुन सक्ने अनुमान छ। हिमताल फुटेर आएका सानातिना बाढीलाई ख्याल नराख्दा पनि विगतमा कैयौं ठूला हिमताल विस्फोटका घटना भइसकेका छन्। जसले ठूलो क्षति गरेको छ।
इसिमोडको सन् २०११ को अध्ययनमा विगतमा २४ वटा ठूला हिमताल विस्फोटको घटना रेकर्ड भएको उल्लेख छ, त्यसमध्ये १० वटा नेपाली भूभागमा भएका थिए भने १० वटा तिब्बतको हिमाली क्षेत्रमा भएका थिए। हिमताल विस्फोटपछि नेपालका नदीमा अत्यधिक बाढी आएको थियो।
यसमध्ये सबैभन्दा उल्लेख्य सन् १९८५ मा डिग च्छो हिमताल फुट्दा भएको थियो, जसले १२ जनाको ज्यान लिएको थियो भने त्यस क्षेत्रमा नाम्चे जलविद्युत् आयोजना, भवन सहित कैयौं संरचना बगाएको थियो। हिमपहिरो आएपछि फुटेको हिमतालले कम्तीमा १५ लाख अमेरिकी डलर (अहिलेको मूल्यमा २० करोड रुपैयाँ)को क्षति पुर्याएको अनुमान छ। सन् १९७७ मा हिमताल विस्फोटपछि दूधकोशी नदीमा आएको बाढीले पनि तीन जनाको ज्यान गएको थियो।
हिमताल विस्फोटको असर अन्तर्देशीय सीमा पार गरेर पनि देखा पर्छ। सन् १९८१ मा तिब्बतको सिरेनमाचो हिमताल विस्फोट भएर आएको बाढीले नेपाल-चीनको मितेरी पुल बगाउँदै सुनकोशी जलविद्युत् आयोजनाको ड्याममा क्षति पुर्याएको थियो। त्यति वेलाको बाढीको क्षति करीब ३० लाख डलर (अहिलेको मूल्यमा करीब ४० करोड रुपैयाँ) बराबर भएको मानिन्छ।
हरितगृह ग्यासको उत्सर्जनले निम्त्याएको विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमताललाई जोखिममा पारेको मानिन्छ। विश्वव्यापी तापमान वृद्धिले हिमतालको संख्या र आकार बढेको तथा हिमनदीको आकार घटिरहेको अध्ययनहरूले देखाएका छन्। हिमालको औसत तापक्रम हरेक वर्ष ०.०५६ डिग्री सेल्सियसले बढ्दै गएको छ।
सन् २०१५ मा पेरिसमा विश्वभरका देशले आफ्नो हरितगृह ग्यास उत्सर्जनलाई सन् २०५० सम्ममा १.५ डिग्री सेल्सियस तापक्रम नबढ्ने गरी सीमित राख्न सहमति गरेका थिए। औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियस भए पनि हिमालय क्षेत्रको औसत तापक्रम भने १.८ डिग्रीले बढ्ने मानिन्छ। अध्ययनहरूले अहिलेकै दरमा हरितगृह ग्यास उत्सर्जन भइरहेमा हिमालय क्षेत्रमा यो शताब्दीको अन्त्यसम्म हिउँको मात्रा दुईतिहाइले घट्ने देखाएका छन्।
हिमताल विस्फोट हुँदाको सबैभन्दा ठूलो असर तल्लो हिमाली क्षेत्र र नदी किनारका पहाडी बस्तीमा देखा पर्छ। ती क्षेत्रमा पानीको बहाव तीव्र हुन्छ र गेग्रान सहितको बाढीले वरिपरिको भागमा चाप सहित बगाउँदा कटान हुन्छ। खासगरी पहाडी क्षेत्रका दर्जनौं जलविद्युत् आयोजना जोखिममा पर्ने गरेका छन्। नेपालका कैयौं नदीमा एकपछि अर्को जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। जसमा खर्बौं रुपैयाँ लगानी भएको छ।
यो पनि पढ्नुहोस् :