पूरा भएन मन्त्रीको वाचा, घटेन अस्पतालमा लाइन
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरे लगत्तै एक महीनाभित्र सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका थिए, तर काठमाडौं उपत्यकाका प्रमुख पाँच अस्पतालमा पहिले जस्तै लाइन देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा असार ३१ गते साँझ पदभार ग्रहण गरेपछि स्वास्थ्यमन्त्री पौडेलले आफूले साना साना कुरामा परिवर्तन ल्याउने बताएका थिए। पौडेलले भनेका थिए, “एक महीनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालहरूमा लाइन लाग्न नपर्ने, व्यवस्थित स्वास्थ्य सुविधा अगाडि बढाउनेछौं।”
हिमालखबरले अवलाेकन गरेका वीर अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल), त्रिवि शिक्षण अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र पाटन अस्पतालमा उपचारका लागि टिकट काट्नेको घुइँचो थियो। बिहानैदेखि सेवाग्राही टिकट काउन्टर अगाडि लामबद्ध देखिन्थे।