संक्रमणकालीन न्याय विधेयकमा संशोधन दर्ता गर्न सकिने
प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा सन्देश सहित पुगेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्न सकिने भएको छ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूलाई विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सकिने जानकारी दिएका छन्। राष्ट्रिय सभाबाट आइतबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग संशोधन विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको अर्को बैठक भदौ ६ गते बस्नेछ।
१९ महीनासम्म दफावार छलफलपछि कानून, न्याय तथा मानव अधिकार समितिले विधेयक सर्वसम्मतिले पारित गरेको थियो। त्यसअघि नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (एमाले)का महेश बर्तौला र नेकपा (माओवादी केन्द्र)का जनार्दन शर्मा सम्मिलित कार्यदलले विधेयकका विवादित विषयमा सहमति जुटाएको थियो।
छिमेकी चीन, संयुक्त राष्ट्रसंघ, यूरोपियन युनियन, संयुक्त राज्य अमेरिका र स्वीट्जरल्यान्डले प्रतिनिधि सभाको विधेयक पारित गर्ने निर्णयको स्वागत गरेका छन्। अधिकारकर्मी तथा द्वन्द्वपीडितले भने समर्थन र विरोधमा प्रतिक्रिया जनाइरहेका छन्।