फेरि घट्यो घरजग्गाको किनबेच
गएको जेठमा उत्साहजनक देखिएको घरजग्गा किनबेच फेरि ओरालो लागेको देखिएको छ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत साउन महीनामा देशभरिमा ४३ हजार ८३५ वटा घरजग्गाको किनबेच (लिखत पारित) भएका छन्। यो संख्या असारमा ४६ हजार १७९ थियो।
गत जेठमा भने घरजग्गाको कारोबार पछिल्लो दुई वर्षयताकै सर्वाधिक धेरै ६१ हजार १६१ पुगेको थियो। किनबेच बढेपछि घरजग्गा व्यवसायी उत्साहित भएका थिए। तर असार र साउनमा लगातार कारोबार संख्या घटेको हो।
साउनको घरजग्गा कारोबार गत पुसयताकै थोरै हो। यसले घरजग्गा क्षेत्रमा शिथिलता बाँकी रहेको संकेत गर्छ। यद्यपि गत वर्षको साउनको तुलनामा यस वर्ष कारोबार बढेको छ। २०८० साउनमा देशभरिमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएका थिए।
विभागका अनुसार गत साउनमा सर्वाधिक घरजग्गाको कारोबार सुनसरीको इनरुवामा भएको छ। साउनमा इनरुवा मालपोत कार्यालयबाट एक हजार ९०४ वटा घरजग्गा किनबेच भए। सप्तरीको राजविराज, मोरङको बेलबारी, झापाको भद्रपुर मालपोत कार्यालयबाट पनि उल्लेख्य घरजग्गा किनबेच भए।
साउनमा काठमाडौं उपत्यकाका नौ वटा मालपोत कार्यालयबाट तीन हजार ९२१ वटा घरजग्गाको लिखत पारित भएको तथ्यांक छ। काठमाडौं उपत्यका घरजग्गा कारोबारको केन्द्र रहँदै आएको छ।
तीन वर्षअघि घरजग्गा कारोबार तीव्र भएको वेला २०७८ फागुनमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयबाट आठ हजार ८४९ वटा घरजग्गा किनबेच भएका थिए। यसले काठमाडौंमा घरजग्गा कारोबार विगतको अवस्थामा फर्किन बाँकी नै रहेको देखाउँछ।
पछिल्लो समयमा घरजग्गा कारोबारलाई प्रोत्साहन गर्न सरकारले विभिन्न लचिला नीतिगत व्यवस्था घोषणा गर्दै आएको छ। यद्यपि घरजग्गाको मूल्य अत्यधिक बढेर आमनागरिकको क्रयशक्तिभन्दा बाहिर पुगेका कारण कारोबारमा अपेक्षित सुधार भएको छैन।