वैदेशिक व्यापारको घाटा रेमिटेन्सबाट पूर्ति, वर्ष दिनमा भित्रियो साढे १४ खर्ब
नेपालको वैदेशिक व्यापारमा लागेको घाटा वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिटेन्सबाट पूर्ति भएको छ।
नेपालको अर्थतन्त्रलाई टिकाइराख्न वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिटेन्सको महत्त्वपूर्ण भूमिका रहेको नयाँ तथ्य होइन। नयाँ तथ्यांकले यसलाई थप पुष्टि गरेको छ।
नेपाल राष्ट्र ब्यांकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले गत वर्ष १४ खर्ब ४५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको देखाएको छ। यो देशको अर्थतन्त्रको आकारका तुलनामा २५ प्रतिशत हो।
अघिल्लो आर्थिक वर्षका तुलनामा गत वर्ष १६.५ प्रतिशतले रेमिटेन्स रकम बढेको छ। वैदेशिक रोजगारीमा जाने क्रममा बढोत्तरीसँगै रेमिटेन्स पनि कीर्तिमानी स्तरमा बढेको हो। गत वर्ष सात लाख ४१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएको तथ्यांक छ।
रेमिटेन्सको वृद्धिले देशको अर्थतन्त्रका महत्त्वपूर्ण सूचकलाई पनि सकारात्मक देखाउन भूमिका खेलेको छ। जस्तै- गत वर्ष देशको वैदेशिक व्यापारमा नेपाललाई १४ खर्ब ४० अर्ब रुपैयाँ घाटा भयो। यो घाटा बराबरको विदेशी मुद्रा नेपालले रेमिटेन्स आयबाटै तिर्न पायो।
यसले गर्दा नेपालको वैदेशिक मुद्राको सञ्चितिमा क्षति हुन पाएन। राष्ट्र ब्यांकका अनुसार गत असारसम्म नेपालको वैदेशिक मुद्राको सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर पुगेको छ। यो अघिल्लो असारको तुलनामा ३०.४ प्रतिशत धेरै हो।
यो सञ्चितिले १३ महीनाको वस्तु र सेवाको आयात थेग्छ। अर्थात्, नेपालसँग अहिले पर्याप्त मात्रामा वैदेशिक मुद्रा छ। सामान्यतया सात महीनाको वस्तु र सेवाको आयात थेग्न पुग्ने विदेशी मुद्रा राख्ने लक्ष्य राष्ट्र ब्यांकको हुन्छ।
गत वर्ष रेमिटेन्सकै योगदानका कारण देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तरलाई जनाउने चालू खाता पनि धनात्मक देखिन पुग्यो। गत वर्ष चालू खाता दुई खर्ब २१ अर्ब रुपैयाँले बचतमा रह्यो।
यो खाता अघिल्लो वर्ष भने ४६ अर्ब ५७ करोड रुपैयाँले घाटामा थियो। चालू खाता बचतमा रहँदा देशमा बाहिरिनेभन्दा भित्रिने रकम धेरै भएको बुझिन्छ। चालू खाता घाटामा जानुले देशमा भित्रिनेभन्दा बाहिरिने रकम धेरै भएको बुझिन्छ।