चीनले भन्यो- प्रतिनिधि सभाबाट संक्रमणकालीन न्याय विधेयक पारित हुनु ऐतिहासिक उपलब्धि
उत्तरी छिमेकी चीनले प्रतिनिधि सभाबाट पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन विधेयकलाई स्वागत गरेको छ।
गत बुधबार पारित विधेयकलाई चीनले शान्ति प्रक्रियाको ऐतिहासिक उपलब्धि भन्दै नेपाललाई बधाई ज्ञापन समेत गरेको छ। नेपालका लागि चीनका राजदूत चेन सोङले सामाजिक सञ्जाल एक्स मार्फत विधेयकको स्वागत गरेका छन्।
राजदूत चेन सोङले लेखेका छन्, ‘प्रतिनिधि सभाबाट संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित भएकामा बधाई दिन चाहन्छु। यो शान्ति प्रक्रियामा पुग्न ऐतिहासिक उपलब्धि र कोशेढुंगा हो।’
विधेयक पारित भएपछि संयुक्त राष्ट्रसंघ, यूरोपियन युनियन, संयुक्त राज्य अमेरिका र स्वीट्जरल्यान्डले नेपाललाई बधाई दिइसकेका छन्।
नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवता विरुद्धको अपराध र बेपत्ता पारिएका व्यक्तिहरू सम्बन्धी २०७१ सालमा बनेको ऐन संशोधन हुन लागेको हो।
प्रतिनिधि सभाबाट पारित भएको यो विधेयक आइतबार राष्ट्रिय सभामा पेश हुने कार्यसूची छ।