भँगालाले विनाश गरेको थामे बस्ती
हिमताल विस्फोट भई आएको ग्रेगान सहितको भेलबाढी गाउँ पसेपछि थामे बस्ती विनाश भएको देखिन्छ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ को थामे खोलामा साउन ३२ गते आएको बाढीले थामे बस्तीमा धेरै क्षति पुर्यायो। तल्लो तटीय क्षेत्रमा यो बाढीले केकति नोक्सान पुर्यायो, त्यसको हालसम्म केही लेखाजोखा गरेको पाइँदैन।
थामे खोलाको जलाधार क्षेत्रको माथिल्लो भाग पार्चेमोचो क्षेत्रमा लहरै रहेका दुई हिमतालमध्ये तल्लोको बाँध फुटी बाढी आएको थियो। त्यो क्षेत्रमा पाँच वटा हिमताल देखिएका छन्।
यो ताल अन्दाजी चार हजार ७६० मिटर उचाइमा अवस्थित छ र तालबाट थामेको बस्ती करीब आठ किलोमिटरको दूरीमा छ। बस्ती र फुटेको हिमतालबीचको उचाइको फरक ९६० मिटर छ। खोलाको औसत ढाल करीब १२ प्रतिशत छ।
हिमताल फुटेर बाढी आई धनजनको क्षति गरेका घटनाहरू हिमाली क्षेत्रमा घटिरहेका हुन्छन्। सन् १९७७ मा खुम्बुको इम्जा उपत्यकामा रहेका नारे हिमताल विस्फोट भएको थियो।
त्यस्तै, सन् १९८५ मा थामे उपत्यकामा रहेको दिक्सो हिमताल र सन् १९९८ मा सोलुखुम्बुको पूर्वी भागमा रहेको तामपोखरी हिमताल फुटेर आएको बाढीले तल्लो भेगको निकै लामो दूरीसम्म प्रभाव पारी धेरै धनजनको क्षति गराएको थियो।
अहिले थामेको हिमताल फुट्दा केकति पानी बाहिरियो र कति ठूलो बाढी आयो भन्ने यकीन भइसकेको छैन। ताल फुटेको बिन्दुबाट तल थामेको बस्तीसम्म हेलिकोप्टरबाट खिचिएको भिडिओमा बाढीको वेलामा नदीले ठाउँ ठाउँमा काट्ने र थुपार्ने तथा छोटो समयका लागि थुनिने र खोलिने कार्यले गर्दा नदीको वेग बढेको देखिन्छ।
थामे बस्तीनिर आइपुग्दा नदीको ढाल कम भएको हुँदा माथिबाट बगाएर ल्याएको गेग्रान खोलाको पिंधमा थुप्रिन गई खोलाको पिंधको सतह माथि उठेको देखिन्छ। पिंधको सतह माथि उठ्नाले खोला आफ्नो बाटो परिवर्तन गरी सानाठूला भँगालाका रूपमा बग्न थालेको देखिन्छ।
एउटा ठूलो भँगालो पुरानो बाटाबाट बग्न थाल्यो। ती भँगालाको कटानले धेरै घरलाई क्षति पुर्यायो। नदीको पुरानो बाटाको छेउछाउमा बस्ती बसाउनाले यस्तो नोक्सान पुग्न गएको हो।
पुराना बस्तीहरू पहाडको ढाल वा नदीले कटानबाट बनाएको टार (Terrace) मा रहेको हुँदा तिनमा हिमताल विस्फोटबाट आउने बाढीको जोखिम कम हुन्छ। तर नदीले बगाएर ल्याई थुपारेको गेग्रानबाट बनेका ‘फ्यान’ (Fan) मा बसालिएका बस्तीहरू नदीको बाढीको जोखिममा पर्छन्।
यसको ज्वलन्त उदाहरणका रूपमा थामे बस्तीमा हालसालै निर्माण गरिएका घरहरूको विनाशलाई लिन सकिन्छ। केही बेरको बाढीले थामे बस्ती नै विनाश गरेको छ।
त्यसैले पहाडी तथा हिमाली क्षेत्रमा बस्ती विकास गर्दा सकेसम्म गेग्रान थुप्रिई बनेको ‘फ्यान’ क्षेत्रलाई छोड्नुपर्छ। नेपालमा थुप्रै हिमताल विस्फोट हुने जोखिम रहेकाले समयमै सतर्कता अपनाउन जरुरी छ।