भेरी करिडोरको चार ठाउँमा पहिरो, यातायात अवरुद्ध
पहिरोले भेरी करिडोर अन्तर्गत छिन्चु-जाजरकोट सडक अवरुद्ध भएको छ।
गए राति परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिका अन्तर्गत ठाउँ ठाउँमा पहिरो गएको छ। चार ठाउँमा पहिरो गएपछि भेरी करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ।
भेरी करिडोर अन्तर्गतको भेरी नगरपालिका-१३, कुदुबाट वडा नं. ४ को खहरेखोला भीर र छेडागाड नगरपालिका-१२, कालापहाड नजीक पहिरो खसेर सडक अवरुद्ध भएको हो। भेरी नगरपालिका-११ स्थित खोदाखोला नजीक खसेको पहिरोले पनि सडक अवरुद्ध भएको छ।
छिन्चु-जाजरकोट सडक अन्तर्गत छेडागाड नगरपालिका-१२, काडला पहाडबाट तल्लु बगरसम्मको सडकका ठाउँ ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए। केही स्थानमा पहिरो हटाए पनि फेरि कुदु र मटेलामा पहिरो खसेका कारण सडक अवरुद्ध रहेको पाण्डेले जानकारी दिए।
सडक डिभिजन कार्यालयले आइतबार बिहानैदेखि पहिरो पन्छाउन शुरू गरिएको जनाएको छ। त्यस्तै, चन्दननाथ गण मालिका ब्यारेक क्षेत्रमा झरेको पहिरो पनि पन्छाउन थालिएको छ।
पर्याप्त उपकरणको अभावमा सबैतिर समयमै बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ। आज बिहानैदेखि फेरि वर्षा भइरहेकाले समस्या थपिएको डीएसपी पाण्डेको भनाइ छ।