जलवायु संकटबाट पार पाउन सामूहिक प्रयास अपरिहार्य : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तन, स्रोत र साधनको बुद्धिमत्तापूर्ण प्रयोगबाट अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्रका जनताको हित सुनिश्चित गर्न सामूहिक प्रयास अपरिहार्य भएको बताएका छन्।
‘भर्चुअल’ माध्यमबाट आयोजित तेस्रो शृंखलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आपसी साझेदारी र सहकार्यमा जोड दिएका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अवधारणामा ‘दिगो भविष्यका लागि सशक्त ग्लोबल साउथ’ सम्मेलन आयोजना गरिएको हो। विश्वका विभिन्न भागमा फैलिएको द्वन्द्व, खाद्य र ऊर्जा संकट, जलवायु परिवर्तनका असर लगायत विषयले असमान रूपमा विकासशील देशहरूमा गम्भीर चुनौती थपेकाले तिनको सामना गर्न सामूहिक प्रयास अपरिहार्य रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।
प्रधानमन्त्री ओलीले ग्लोबल साउथका १५ राष्ट्र तथा सरकार प्रमुखसँगै सम्मेलनलाई सम्बोधन गरेका हुन्। तुलनात्मक रूपमा न्यून आर्थिक एवं औद्योगिक विकास गरेका ७८ अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्र ग्लोबल साउथका सदस्य छन्।