हिमताल फुटेर थामेमा बाढी (भिडिओ)
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ को थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ।
विज्ञहरू सहितको टोलीले भदौ १ मा थामे क्षेत्रको हेलिकोप्टरबाट स्थलगत निरीक्षण गरेको छ। हेलिकोप्टरबाट स्थलगत निरीक्षण गर्दा थामेभन्दा माथि रहेको हिमताल फुटेर बाढी आएको देखिएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले बताइन्।
थामेमाथि पाँच वटा हिमताल छन्। यही वर्ष आरोहणमा जाँदा पाँचमध्ये तीन हिमतालको रङ फरक देखेको आरोही फुर्वा तेन्जिङ शेर्पाले फेसबूकमा उल्लेख गरेका छन्।
रक्षामन्त्री मानवीर राई नेतृत्वको सुरक्षा अधिकारीको टोलीले निरीक्षण गरेको हो। हेलिकोप्टरबाट निरीक्षण गर्दा थामे खोलाको शिरमा रहेको ताल फुटेको देखिएको पाण्डेले जानकारी दिइन्।
हिमताल फुटेर तल्लो क्षेत्रमा आउँदा भेलबाढीको रूप लिएको छ। पानीको बहावसँगै ढुंगामाटो मिसिंदा विनाशकारी बनेको देखिन्छ।
थामेसम्म आइपुग्दा खोला वारिपारि ससाना पहिरो पनि मिसिएका छन्। जसले गर्दा थामे गाउँका २० वटा भौतिक संरचना बगेका छन्।
घर र होटल गरी २० संरचना, एक विद्यालय र एक क्लिनिकमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरेले बताए। बाढीमा ५५ वर्षीय निमानुरु टुडु शेर्पा हराइरहेका छन्। उनको खोजी भइरहेको घिमिरेले बताए।
थामे खोलामा आएको बाढीबाट थामे गाउँका ९३ जना विस्थापित छन्। उनीहरूलाई विद्यालय, छरछिमेकी र खुला ठाउँमा राखिएको छ।
त्यस्तै, विद्यालयको छात्रावासमा बस्ने ३२ विद्यार्थी, आठ शिक्षक र दुई कर्मचारीलाई दुम्जेथामेमा रहेको सामुदायिक भवनमा सारिएको छ।
बाढीले तटीय क्षेत्रमा कटान जारी राखेको छ। माप्य दूधकोशी गाउँपालिका-१, अँधेरीस्थित खुम्बुक्षेत्र जोड्ने दूधकोशी खोलाको पक्की पुलको एकतर्फको भाग भासिएको छ। सोताङ गाउँपालिका-१, दिप्लीघाटको बेलिब्रिजको स्टोर गरेर राखिएको सामान बगाएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका-३, जोरसल्लेमा कटानका कारण फाक्दिनदेखि नाम्चे जाने पैदल मार्ग दुई स्थानमा बगाएको डीएसपी घिमिरेले बताए।