हिमपहिरोका कारण थामेमा बाढी आएको आकलन
जल तथा मौसम विज्ञान विभागले हिमपहिरोका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित थामे खोलामा एक्कासि बाढी आएको हुन सक्ने अनुमान गरेको छ।
विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीबारे प्रारम्भिक जानकारी दिंदै उक्त क्षेत्रमा साना र ठूला गरी ६ वटा हिमताल र हिमपोखरी रहेको उल्लेख गरेको छ। तीमध्ये कुनै एक विस्फोट भएको हुन सक्ने महाशाखाको आकलन छ।
‘उक्त क्षेत्र नजिक रहेको फोर्त्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रम क्रमशः बढेको (९.७ देखि ११ डिग्री सेल्सियस) र बिहीबार १५.९ डिग्री तापक्रम पुगेको थियो,’ महाशाखाले भनेको छ, ‘निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको अनुमान गरिएको छ।’
शुक्रबार दिउँसो थामेमा एक्कासि आएको बाढीले भौतिक संरचना बगाएको छ। बाढीमा परी एक जना हराइरहेका छन्।