विनिमय संस्कृति धान्ने ‘ओल्के संक्रान्ति’
मुद्राको आविष्कार हुनुअघि विनिमय प्रथाबाट समाजको प्राण धानिएको थियो। सुदूरपश्चिममा प्रचलित ओल्के संस्कृतिले समाजका विभिन्न पेशा र वर्गका मानिसबीच वस्तु साटफेरबाट एकअर्काको अभाव पूर्ति गर्दै आएको छ।
मर्या भणी बिसौं, बाँच्या भणी ओल्क्या।
उपर्युक्त लोकोक्तिले सुदूरपश्चिम भेगमा प्रचलनमा रहेको बिसौं (बिसु) र ओल्क्या वा ओल्के पर्वबारे बताउँछ। मर्न पनि सकिन्छ भनेर बिसु पर्व र अब बाँचियो भनेर ओल्के पर्व मनाउने चलन छ।
आमनेपाली समाजलाई खास गरी साउने र माघे संक्रान्तिबारे थाहा छ। ओल्के संक्रान्ति, बुडीपोला संक्रान्ति आदिको भने विरलै चर्चा भएको पाइन्छ। सुदूरपश्चिममा प्रत्येक महीनाको दरले बाह्रमासे संक्रान्ति पर्व पाइन्छन्। तीमध्ये भदौ १ गते मनाइने ओल्के संक्रान्तिबारे यस लेखमा चर्चा गरिंदै छ।
वैशाख १ गते सुदूरपश्चिमका सात वटै पहाडी जिल्लामा बिसौं संक्रान्ति अर्थात् बिसु पर्व मनाइन्छ। नयाँ वर्षसँगै नयाँ नयाँ समस्या आउने अर्थात् गर्मी याममा रोगव्याधि, झरीपछि बाढीपहिरो आदि जोखिम आउँछन् भन्ने सामाजिक विश्वास छ। यसैले वैशाख १ गते बिसु पर्वमा सिस्नुले एकअर्काको शरीरमा हानेर कुनै पनि रोगव्याधि नलागोस् भन्ने कामना गरिन्छ। शरीरमा सिस्नु लगाउँदा छाला सम्बन्धी रोग निर्मूल हुने जनविश्वास छ। त्यसैले मरे मरिन्छ भनेर सिस्नु लगाउँदै बिसु पर्व र अब बाँचियो भनी भदौ १ मा ओल्के संक्रान्ति पर्व मनाउने गरिन्छ। नागपञ्चमीदेखि हिउँद लाग्ने र रोगव्याधि कम हुने नेपाली समाजको मान्यता छ।
ओल्के संक्रान्ति विशेष गरेर दलित जातिले मनाउने प्रचलन छ। यद्यपि यो पर्व अन्य जातिले पनि मनाउन थालेका छन्। भदौ १ गते मनाइने भएकाले यसलाई भाद्र संक्रान्ति वा सिंह संक्रान्ति पनि भनिन्छ।
ओल्के संक्रान्तिमा दलित समुदायले आफूले मानिआएका विष्ट वा जजमानका घरआँगन पुगेर ‘लिय मेरो ओल्क्या’ भन्दै आफ्नो पेशा-व्यवसाय र गच्छे अनुसारका वस्तु उपहारका रूपमा दिन्छन्। एक अर्थमा ओल्के भनेको उपहार दिने र लिने कार्य हो।
जाति वा थरका आधारमा उपहार दिंदा भाँड जातिले दियो, चिलिम, कुल्फी, आदि माटाका भाँडाकुँडा, भुल जातिले हलो, जुवा, हल्लुँड, सार्कीले छालाको जुत्ता, चप्पल, ढोलीले पैसा राख्ने थैली, टोपी, सुनार जातिले पञ्चधातुको औंठी, दाँत, कान कार्नी, आदि दिन्छन्। यस्तै, पार्की जातिले डोकोडालो, नाङ्लो, टमटा जातिले तामाको दियो, पूजा गर्ने थाली, लोहार जातिले चिम्टा, आँसी, बन्चरो, कसा जातिले काँसका कचौरा, आदि घरेलु सामान दिन्छन्।
यस्ता घरेलु सामग्रीको बदलामा जजमान वर्गले रुपैयाँका साथै चामल, दाल, घ्यू, मह, दही, खसी आदि खाद्यपदार्थ दिन्छन्। कसै कसैले गरगहना वा कपडा पनि दिन्छन्। एक अर्थमा यो ओल्के पर्व वस्तु साटफेर गर्ने संस्कृति हो भन्दा अत्युक्ति हुँदैन। जसको घरमा जे छ त्यो बाँडीचुँडी गरेर जीवन धान्नुपर्छ भन्ने यसको मर्म हो। यसले सामाजिक अन्तर्घुलन र सद्भावको तस्वीर पनि देखाउँछ।
संसारमा मुद्राको आविष्कार हुनुअघि यसै प्रकारको विनिमय प्रथाबाट समाजको जीवन निर्वाह भएको थियो। त्यस युगको प्रतिविम्ब ओल्के संक्रान्तिमा देखिन्छ।
ओल्के संस्कृति आफूभन्दा ठूलाबडाप्रति आस्था र आदरभाव प्रकट गर्ने र सानालाई माया, स्नेह आदानप्रदान गर्ने परम्परा पनि हो। गरीबगुरुबालाई एकाध महीना थेग्ने खाद्यवस्तु, लत्ताकपडा, नगद जम्मा हुने भएकाले यस पर्वलाई समाजको अभाव पूर्ति संस्कृतिका रूपमा पनि हेर्न सकिन्छ।
यस्तो माग र दानलाई स्थानीय डोटेली भाषिकामा ‘तैरमाणे’ (माग्नु) र ‘तैरमाणो’ (दिनु) भनिन्छ। यसरी माग्नु वा दिनु याचना वा दया/कृपा नभएर दलित जातिले आफ्नो अधिकार मानेको देखिन्छ। लिनेले अधिकार र दिनेले कर्तव्य ठानिएको ओल्के संस्कृति आधुनिक विकाससँगै लोप हुने जोखिम छ।
ओल्के संस्कृतिले सुदूरपश्चिम क्षेत्र कृषि तथा पशुपालन पेशामा आधारित रहेको देखाउँछ। माघदेखि शुरू हुने खेतीपाती साउनको अन्त्यसम्ममा लगभग सकिन्छ। त्यसपछि आउने ओल्के पर्वले विशेष महत्त्व पाउँछ। किनकि कृषि कर्मको व्यस्तताले आफन्तजन, छरछिमेकसँग टाढा भएकाहरूलाई आपसमा सम्मिलन गराउन र थकान बिर्सन यो पर्व बहाना बनिदिन्छ। इष्टमित्र तथा पराइघर गएका चेलीबेटीलाई समेत निम्ता दिएर मिष्टान्न खुवाई खुशी साट्ने चलन यस पर्वमा रहेको देखिन्छ।
डाेटीको खाती गाउँ निवासी धर्मसिंह खाती (५५) का अनुसार ओल्के पर्व कुनै वेला दशैंभन्दा पनि रमाइलो गरी मनाइन्थ्यो। पछिल्ला वर्षहरूमा भने त्यो स्थान र उमंग खस्किंदै आएको छ।
महिलाहरूले साउन मसान्तको राति सुत्नुअघि औषधीय गुण भएको घोल ‘मछिट्टी’ को लेपन हातगोडामा लगाउने चलन छ। हरालाको जरा, दारिम, ओखरका बोक्रा, मेहरी फूलको डाँठ जस्ता विभिन्न वनस्पति र जडीबुटी मसिनो गरी कुटेर मछिट्टी बनाइन्छ। हातगोडामा राति लेपन लगाएको ठाउँमा बिहान उठ्दा रङ बसिसकेको हुन्छ।
यो लगाउँदा एक त, असार-साउनमा खेतमा काम गर्दा हिलोले खाएको हातखुट्टा निको हुने र दोस्रो, मछिट्टी लगाए चरक्क घाम लाग्ने र घमौरा-खटिरा आउने भदौमा ती समस्या नहुने विश्वास गरिन्छ। उपचार विधि संस्कृतिका रूपमा विकसित भइसकेको छ। यस्तो लोकज्ञान निकै लामो अभ्यासबाट विकसित हुन्छ।
ओल्के संक्रान्तिको दिन रमाइलो नाचगान हुन्छ। लामो समय कतै थन्क्याइएका वा बन्द गरिएका बाजा झिकिन्छ र बजाइन्छ। लोकसंगीतको यो गुन्जनले खेतीपाती बिदा भयो भन्ने जनाउ दिन्छ। नाचगानका वेला सबैका हातखुट्टा रंगीन देखिन्छन्। केही नचुवारे वा भाँड उमंगले उत्ताउलो हुने भएकाले ‘भदौका भाँड’ भन्ने उखान पनि चलेको पाइन्छ।
सुदूरपश्चिममा गाब्या संस्कृति अर्थात् पिंडालुको गाबा खाने चलन गहिरो गरी बसेको छ। साउनभरि माछामासु नखाई पिंडालुको गाबा खाने भएकाले ओल्के पर्वका दिन मासु खाइन्छ। विगतमा साउनभरि बाजागाजा बजाउनु हुँदैन भन्ने लोकमान्यता पनि थियो। हिजोआज भने त्यो मान्यता हट्दै गएको छ। साउनमा खेतीपातीको चटारो हुने हुनाले रामरमाइलोतिर ध्यान नजाओस् भनेर बाजा बजाउन वर्जित गरिएको हुन सक्छ। बाजाहरू प्रायः छालाले बनाइएका हुनाले बर्खा मासमा पानी र ओसले नबिगारोस् भन्ने ध्येय पनि हो।
सुदूरपश्चिममा साउनमा हर्यालो हाल्ने चलन छ। खेतबारीमा रोग नलागोस् र बालीनालीको उत्पादन बढोस् भन्दै कुरिलो, मेल लगायत हरिया वनस्पति खेतको आलीमा रोप्नुलाई हर्यालो हाल्नु भनिन्छ। हर्यालो संस्कृति बिसु पर्व अगावै चैतमा पनि मनाउने गरेको पाइन्छ। चैतमै चैतेलो, चैतेली आदि चाडपर्व पनि मनाइन्छ। यस पर्वमा गाइने लोकभाकालाई चैतेलो भनिन्छ। ठूला मेला, जात्रा लाग्छन्।
भदौमा मनाइने गौरा पर्व सुदूरपश्चिममा भव्य रूपमा मनाइन्छ। यस पर्वमा ‘बिरुडा’ अर्थात् शरीरका लागि शक्तिवर्द्धक पाँच प्रकारका गेडागुडी उमार्ने चलन छ। पर्वमा मागल, फाग, धमारी आदि लोकभाका गाइन्छन्। उहिले ढुस्को, पैकेलो, हुड्को आदि गीत तथा नाच रहेको कथन सुनिन्छ।
सुदूरपश्चिम क्षेत्रमा भौतिक तथा अभौतिक दुवै खाले लोकसंस्कृति र लोकविश्वास जीवन्त छ। यसो हुनुमा त्यस क्षेत्रका महिलाको प्रमुख भूमिका रहेको पाइन्छ। कारण हो, उनीहरूसँग धार्मिक आचरण, विश्वास र अभ्यास अझै पनि छ। धर्मसँग गाँसिएका अनेकन् लोकमान्यता छन्। त्यही कारण यस क्षेत्रका लोकजनको मनमा आजसम्म विविध प्रचलन कायम छ।
आधुनिकताको राप तथा प्रविधि विकासको चापका कारण पछिल्लो समय सबै जातजातिले आआफ्ना पुराना पेशा, व्यवसाय र परम्परा छोड्दै आएका छन्। नेपाली लोकसंस्कृतिका लागि यो दु:खद विषय हो। हाम्रा लोकसंस्कृति र परम्परा हाम्रा पहिचान हुन्। ओल्के होस् या कुनक्यौली, लाछाडो होस् या चैतेलो, माइतीपाठो होस् या असोज १ गते हुने बूढीपोला संक्रान्ति, यी सबै चाडपर्व वा लोकसंस्कृति सुदूरपश्चिम क्षेत्रको मात्र नभई देशकै अनमोल निधि हुन्। यिनले नेपाली समाजको विविधतामा रङ थपेका छन्।
लोकसंस्कृतिको विविधताभित्र नेपाली समाज एकताबद्ध रहिआएको छ। यसले लोकप्रचलन कुनै एक क्षेत्र, एक जाति वा एक समुदायको मात्र संस्कृति होइन, समग्र नेपालीको हो भन्ने भावना बोलेको छ।